वीरगन्ज २, फाल्गुन:पर्सा क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्ज महानगरपालिका वडा नम्बर–१४ पिप्रामा घरदैलो, भेटघाट तथा संवाद कार्यक्रम सञ्चालन गरेका छन्।
कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले तराई–मधेसको मुख्य आयस्रोत कृषि भए पनि राज्यले किसानहरूसँग सधैं विभेद गर्दै आएको आरोप लगाए। उनले जनमत पार्टी किसानको सम्मान, अधिकार र हितका लागि निरन्तर तत्पर रहने बताए।
सरार्फले खेती प्रणालीलाई आधुनिकीकरण तथा व्यवसायिक बनाउँदै किसानको आम्दानी बढाउने योजना जनमत पार्टीसँग मात्र रहेको दाबी गरे। साथै उनले वीरगन्जस्थित कृषि औजार कारखानालाई पूर्ण रूपमा सञ्चालन गराउन आफू प्रतिबद्ध रहने स्पष्ट पारे।
देश र मधेसको निकासको उत्कृष्ट भिजन जनमत पार्टी र पार्टी अध्यक्ष डा. सिके राउतसँग मात्र रहेको उल्लेख गर्दै उनले हर्न छापमा मतदान गर्न सबै मतदातासमक्ष अपिल गरे।
कार्यक्रममा नेताहरू बिध्याला प्रसाद, रम्भा मिश्रा, समानुपातिक उम्मेदवार विजय पासवान, डा. मनोज कुमार, सीए देवराज, श्याम शंकर चौरसिया, अनिता रौनियार, सिकेन्द्र पटेल, रोहित पटेल, सत्युग साह, तुल्सीराम, सहनवाज राकि, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, रामबहादुर पासवान लगायतको उल्लेख्य सहभागिता रहेको थियो।


