वीरगन्ज,३१भदौंःवीरगन्ज–८पानीटंकीस्थित एक सेकुवा होटलबाट प्रहरीले लागूपदार्थ ब्राउन सुगर(खैरो हेरोइन)सहित एक भारतीयलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जमुना सेकुवा होटलबाट ४८ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारतको बिहार राज्यको मोतिहारी जिल्लाको आदापुर निवासी विकास कुमार पटेल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।
आइतबार बेलुकी जमुना सेकुवा होटलमा खाजा खाइरहेका बेला प्रहरी टोली पुगेर पटेललाई नियन्त्रणमा लिएको र उनको शरिर खानतलासी गर्दौ ४८ ग्राम ब्राउन सुगर बरामद भएको भारतीले बताए ।
ब्राउन सुगरसहित पक्राउ परेका पटेललाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

