काठमाडौं,२९माघःराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डा. प्रणय राणाले पार्टी परित्याग गरेका छन् । उम्मेदवार छनोटप्रति चर्को असन्तुष्टी पोख्दै आएका उनले नेतृत्वपंक्तिको अन्धभक्त बन्न नसकेकोमा माफी माग्दै साधारण सदस्य समेत नरहनेगरी राजीनामा दिएका हुन् ।
‘सबै बेथितिका बावजुद मुकदर्शक भएर पार्टीमै रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको व्यहोरा जानकारी गराउन चाहन्छु’, महामन्त्री कविन्द्र बुर्लाकोटीलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, ‘आफ्नो आन्तरिक अभ्यास नैसही ढङ्गले नगर्ने पार्टीले भोलि सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास म गर्न सक्दिनँ, र अन्धभक्ति गर्न पनि चाहन्नँ।’
२०७९ को निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेको राणा आगामी निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बन्न चाहन्थे, तर उनले टिकट पाएनन् । त्यसयता पार्टीको विधि र विधान लत्याएर उम्मेदवार छनोट गरिएको बताउँदै आएका उनले नेतृत्व पंक्तिबाट संगठनलाई नै ‘स्क्याम’ गरिएको आरोप लगाएका छन् ।
सैन्य पृष्ठभूमि भएका राणाले उम्मेदवार बन्नको लागि आफूले बुझाएको २५ हजार आवेदन शुल्क फिर्ता माग्दै सबै आंकाक्षीको पैसा ‘रिर्टन’ गर्नुपर्ने समेत बताएका छन् ।


