वीरगन्ज,२१माघ:जनमत पार्टीका तर्फबाट पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार ओमप्रकाश सर्राफले मधेस आन्दोलनका सहिद परिवारसंग भेटघाट गरेका छन्।मधेस आन्दोलनमा वीरगन्जमा सहादत प्राप्त गरेका वीरगन्ज- १८ इनर्वाका स्व. धर्मराज सिंह राजपुतकाे घरमै मंगलबार पुगेर सर्राफले उनकि आमालाई भेटेका हुन्।
सर्राफले सहिद धर्मराज सिंहको तस्वीरअघि शीर निहुराउँदै मधेस आन्दोलनका सम्पूर्ण सहिदका सपना साकार पार्न जीवनभर संघर्ष गर्ने संकल्प व्यक्त गरे।
सहिद धर्मराज सिंहकी आमाबाट आशीर्वाद लिदैं सर्राफले भने, `सहिदको रगतले लेखिएको इतिहासलाई मेट्न दिने छैन। सहिदले देखेको अधिकार, पहिचान र सम्मानको सपना पूरा नभएसम्म मेरो संघर्ष रोकिने छैन।´
सर्राफले मधेस आन्दोलन कुनै सम्झनामा सीमित विषय नभई आज पनि जिउँदो मुद्दा भएको उल्लेख गर्दै सहिदको बलिदानीबाट प्राप्त उपलब्धि जोगाउन र आन्दोलनका एजेन्डा बचाउन आफू उम्मेदवार बनेको स्पष्ट पारे।
सहिदको बलिदानीलाई सत्ता र स्वार्थको राजनीतिले ओझेल पार्न खोजिएको भन्दै उनले त्यसविरुद्ध जनताको बलबाट लड्ने अठोट दोहोर्याए।
सहिदकी आमाबाट पाएको आशीर्वादलाई संघर्षको शक्ति भन्दै सर्राफले सहिद परिवारको पीडालाई राज्यले बिर्सिनु अपराध भएको टिप्पणी गरे।उनले भने,`सहिदको सम्मान भाषणमा होइन, अधिकार कार्यान्वयनमा देखिनुपर्छ।´

