वीरगन्ज,१७माघःपर्सा क्षेत्र नम्बर २ मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयामा शनिबार रास्वपाको चुनावी सम्पर्क कार्यालय स्थापना गरि सञ्चालनमा ल्याइएको छ । रास्वपा उम्मेदवार सुशील कुमार कानुले उक्त कार्यालयको समुद्घाटन गरेका हुन् ।
त्यसअघि उम्मेदवार कानुले वडा नम्बर १ का बजार छपकैया लगायतका टोलमा चुनावी घरदैलो कार्यक्रमपनि गरेका थिए । त्यसक्रममा स्थानीय मतदाताले उम्मेदवार कानुलाई अबीर टीका लगाएर समर्थन पनि जनाएका थिए ।
कानु मतदाताको घरदैलोमा पुग्दा उनिहरुले विगतमा निर्वाचित प्रतिनिधिहरूले चुनावअघि आश्वासन दिएपनि जितपछि जनताका समस्या बिर्सिने प्रवृत्ति दोहोरिँदै आएको गुनासो सुनाएका थिए ।
मतदाताको गुनासो सुनेपछि रास्वपा उम्मेदवार कानुले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी र सडक पूर्वाधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। उनले भने, “छपकैयाँका समस्या अब कागजमा होइन, काम गरेर समाधान गर्छौ । जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो पूँजी हो।”

