वीरगन्ज,१२पुसःवीरगन्ज–२२जगरनाथपुरका किसान हरेन्द्र यादवको धानबालीमा गरिएको आगजनीको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न जनता समाजवादी पार्टी (जसपा) ले माग गरेको छ । साथै उक्त प्रकरणमा जसपाका उपमहासचिवसमेत रहेका संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवलाई बदनाम गराउने गरी अभिव्यक्ति दिने जसपा नेपालका जिल्ला अध्यक्षलाई कारबाही गर्नपनि जसपाले माग गरेको छ ।
शुक्रबार जसपाका वीरगन्ज महानगर अध्यक्ष ईश्वर चन्द्र यादव नेतृत्वको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझउँदै धानबालीमा गरिएको आजगनीको घटनाको सत्यसत्थ छानबिन गरि दोषीलाई कारबाही गर्न माग गरेको हो ।
जसपाले उक्त प्रकरणमै बिहीबार जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवले पत्रकार सम्मेलन गरेर लगाएको आरोपप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार सम्मेलनमा जसपा नेपालका अध्यक्ष यादवले बिना कुनै तथ्य प्रमाण मनगढन्ते रुपमा जसपाका उपमहासचिव समेत रहेका खानेपानीमन्त्री प्रदीप यादवलाई बदनाम गराउने गरि दिएको अभिव्यक्ती निन्दनीय रहेको भन्दै उक्त अभिव्यक्ति तत्काल सच्याउन जसपाले माग गरेको छ ।
जसपा नेपालका जिल्ला अध्यक्ष यादवको अभिव्यक्ति समाजमा भाँडभैलो गर्ने र शान्तिसुरक्षामा खलल पुर्याउने गरी आएको ठहर गर्दै जसपाले त्यस्ता अभिव्यक्ति दिनेलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।अन्यथा उक्त अभिव्यक्तिकै कारण निम्तिन सक्ने अप्रिय घटनाको जिम्मेवार स्थानीय प्रशासन हुने चेतावनी जसपाले दिएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले आगजनीको घटनाको स्थानीय प्रशासनले छानविन गरिरहेको भन्दै आरोप प्रत्यारोपमा नउत्रिन सबैलाई आग्रह गरे ।उनले तथ्य प्रमाण विना कसैलाई आरोप लगाउन नहुने भन्दै तथ्य र प्रमाण बिना राखिएका अभिव्यक्ति हितकर नहुने बताए ।
ज्ञपनपत्र बुझाउन गएको टोलीमा जसपाका केन्द्रिय सदस्य मोहनलाल चौधरी,भीमा यादव , जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, जसपाका नेताहरु तबरेज अहमद,मुकेश द्धिवेदी लगायतको सहभागिता थियो ।

