बारा,१६ माघ :बारा निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका तर्फबाट प्र्रतिनिधिसभा सदस्य उम्मेदवार ई. अरविन्द साहको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । शुक्रबार शहीद दिवसको अवसर पारेर कलैया उपमहानगरपालिका–१४ बघवनमा रास्वपाको सम्पर्क कार्यालयको उद्घाटन उम्मेदवार साह आँफैले गरेका हुन् ।
सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उम्मेदवार साहले देशको लोकतान्त्रिक परिवर्तनका विभिन्न आन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे । उनले विशेषगरी जेन–जी आन्दोलनका क्रममा तत्कालीन सरकारले गरेको दमन, हत्या र हिंसाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै ती घटनाहरूले मुलुकको राजनीतिक चेतनामा गहिरो प्रभाव पारेको बताए ।
साहले पछिल्लो समय नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत एमालेका केही नेता तथा नेपाली काँग्रेसका नेताहरूबाट जेन–जी शहीदहरूको विषयमा आएका नकारात्मक टिप्पणीप्रति आपत्ति जनाउँदै यस्ता अभिव्यक्तिले शहीदहरूको बलिदानको अवमूल्यन गर्ने धारणा व्यक्त गरे । उनले भने, “शहीदहरूको सम्मान कुनै दल वा विचारधाराको सीमाभन्दा माथि हुनुपर्छ । देश परिवर्तनका लागि ज्यान गुमाउने हरेक शहीद हाम्रो साझा गौरव हुन् ।”
त्यसअघि घरदैलो कार्यक्रमका क्रममा साहले स्थानीयहरूसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरे । उनले जेन–जी भावना अनुरूप पारदर्शी शासन, रोजगारी सिर्जना, शिक्षा र प्रविधिमा लगानी, तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति आफ्नो प्राथमिकतामा रहेको बताए । साथै, उनले रास्वपाले जेन–जी अगुवाहरूलाई प्रत्यक्ष रूपमा निर्वाचन प्रक्रियामा सहभागी गराएको उल्लेख गर्दै युवाहरूलाई निर्णय निर्माणको केन्द्रमा ल्याउने प्रतिबद्धता जनाए ।
“देशलाई नयाँ दिशा दिन युवाहरूको ऊर्जा, सोच र नेतृत्व आवश्यक छ,” साहले भने, “हामीले जेन–जी शहीदहरूको सपना पूरा गर्न रास्वपाको एजेन्डा अघि सारेका छौँ, जहाँ सुशासन, समान अवसर र नागरिकको सम्मान केन्द्रमा छन् ।”
घरदैलोका क्रममा उनले मतदाताहरूलाई रास्वपाको घण्टी छापमा मतदान गर्दै परिवर्तनको पक्षमा उभिन आग्रह गरे । उनले जेन–जी शहीदहरूको भावनालाई कदर गर्दै पुरानो राजनीतिक अभ्यासलाई तोड्ने र नयाँ सोचका साथ मुलुकलाई अघि बढाउने समय आएको बताए ।

