वीरगन्ज,८माघः पर्सा क्षेत्र नम्बर २ बाट रास्वपाका उम्मेदवार सुशील साह कानुले ऐतिहासिकस्थल पर्सागढीमा पुगेर त्यहाँस्थित पारसनाथ बाबाको मन्दिरमा दर्शन गरेर आफ्नो चुनावी प्रचार अभियान सुरु गरेका छन् ।
अंग्रेज सेनालाई गोर्खालीले हराएको ऐतिहासिकस्थल पर्सागढीस्थित पारसनाथ बाबाको मन्दिरमा बिहीबार बिहान पुगेका कानुले पूजापाठ गरेर आफ्नो चुनावी प्रचार अभियान सुरु गरेका हुन् ।पर्सागढीको मन्दिरमा पूजापाठ र दर्शन सकेर त्यहाँबाट आफ्ना समर्थक र शुभचिन्तकसंगै कानुले बिहीबार नै पर्सागढी नगरपालिका वडा नम्बर ४ , ५ र ६ मा पुगेर स्थानीय मतदाताहरुलाई भेटे ।
नेपालको गौरवशाली इतिहाससँग जोडिएको पर्सागढीस्थित ऐतिहासिक मन्दिरमा दर्शन गर्दै आफ्नो चुनावी अभियानको शुभारम्भ गरेको भन्दै कानुले आफनो फेसबुक पेजमा लेखेका छन्,‘अंग्रेजविरुद्धको युद्धमा नेपाली वीरताले दिलाएको विजयको साक्षी यही भूमि हो ।पुर्खाहरूले जोगाएर राखेको हाम्रो नेपाली पहिचान, स्वाभिमान र गरिमालाई पुनः शिखरमा पु¥याउँदै प्रत्येक नेपालीको सुरक्षित भविष्य र देशको प्रगतिका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट पर्सा–२ मा अघि बढेको छु ।’
इतिहास बदल्ने यात्राको सुरुवात पर्सागढी मन्दिरमा आशीर्वाद लिएर गर्दा अत्यन्तै ऊर्जाशील र प्रेरित महसुस गरेको भन्दै कानुले आफ्नो चुनावी अभियानलाई सफल पार्न सम्पूर्ण मतदाताले सहयोग गर्नेमा आँफु विश्वस्त रहेको बताएका छन् ।
पर्सा क्षेत्र नम्बर २ मा वीरगन्ज महानगरपालिकाको ३२ मध्ये १३ वटा, पर्सागढी नगरपालिकाका सबै ९ वटा वडा र बहुदरमाई नगरपालिकाका २, ३ , ४ र ६ गरी ४ वटा गरी कूल २६ वटा वडाहरु पर्दछन् ।

