Madhes Khabar
खेलकुद

वीरगन्जमा जारी गढीमाई प्रिमियर लिगमा ‘सानो पाइला पर्सा टस्क्स्’ को लगातार दोस्रो जित

वीरगन्ज,२माघ: वीरगन्ज महानगरपालिका वडा नम्बर २० अपौनीमा जारी दोस्रो गढीमाई प्रिमियर लिगमा सानो ‘पाइला पर्सा टस्क्स्’ ले लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा सानो पाइलाले तामाश्री नेपाललाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो सुखद सुरुवातलाई निरन्तरता दिएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको तामाश्री नेपाल १५.२ ओभरमा ९० रनमै अलआउट भएको थियो । सानो पाइलाका बलरहरूले सुरुवातदेखि नै दबाब बनाउँदै तामाश्रीलाई ठूलो स्कोर बनाउन दिएनन् । सामान्य लक्ष्य पछ्याउने क्रममा सानो पाइलाका ओपनरहरू नै निर्णायक बने । ओपनर सोहेब अख्तरले २८ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ४३ रन जोडे भने अर्का ओपनर बिक्रमले १९ बलमा १ छक्का र ४ चौकासहित २८ रन बनाए । सानो पाइलाले ९.२ ओभरमै ९१ रन बनाउँदै सहज जित हात पारेको हो ।

सानो पाइला पर्सा टस्कसका सोहेब अख्तर खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई आयोजक चेक नेपालका अध्यक्ष दामोदर (उपेन्द्र) यादव र नेपाली कांग्रेस पर्साका कार्यबाहक सभापति रामनारायण कुर्मीले नगद एक हजार रुपैयाँ प्रदान गरे । सोहेबले ब्याटिङसँगै बलिङतर्फ पनि उत्कृष्ट प्रदर्शन गर्दै ३ ओभरमा जम्मा १३ रन खर्चिएर २ विकेट लिएका थिए ।

यसअघि सानो पाइला पर्सा टस्कसले जेनजी नेपाललाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो । अब अर्काे खेलमा सानो पाइलाले आइतबार टेढा टाइगरसँग प्रतिस्पर्धा गर्नेछ ।

चेक नेपालको आयोजनामा पुष २६ गतेदेखि सुरु भएको प्रतियोगितामा साउथ जोन स्कुल, हरपतगञ्ज युथ किङग, अठराह स्ट्राइकर्स, जेनजी नेपाल, टेढा टाइगर, अल्फा एभेन्जर, तामाश्री नेपाल, सुधिर वारियर, सखुवा प्रसौनी (एसपी) टाइगर र सानो पाइला पर्सा टस्कस सहभागी छन् ।

 

प्रतियोगिताको उपाधि विजेताले नगद ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । तृतीय र सान्त्वना स्थान हासिल गर्ने टोलीका लागि पनि नगदसहित अन्य पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल यही माघ १० गते हुने छ ।

आयोजक चेक नेपालका अध्यक्ष दामोदर यादवका अनुसार ग्रामीण क्षेत्रका खेलाडीलाई प्रोत्साहन गर्न र युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले गत वर्षदेखि गढीमाई प्रिमियर लिग आयोजना गर्न थालिएको हो । “ग्रामीण भेगमा धेरै प्रतिभावान खेलाडी छन्, तर उनीहरूलाई अवसरको अभाव हुन्छ । यही सोचका साथ यो प्रतियोगिता सुरु गरेका हौं,” उनले भने ।

यादवका अनुसार प्रतियोगिताको पहिलो संस्करणमा सहभागी भएका केही खेलाडीले प्रधानमन्त्री कपदेखि लिएर अन्य ठूला प्रतियोगितामा समेत अवसर पाइरहेका छन् । पर्सा क्रिकेट संघको नजरमा पनि ग्रामीण क्षेत्रका खेलाडी परुन् र उनीहरूलाई मूलधारको क्रिकेटसम्म पु¥याउन सहयोग होस् भन्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ ।

Related posts

मधेसका यू-१६ टिमका कप्तान चन्दन राम वीरगन्जमा सम्मानित

MadhesKhabar

वेस्ट इन्डिजसंग हुने सिरिजका लागि नेपाली टोली घोषणा,वीरगन्जका आसिफ र आरिफ पनि परे टिममा

MadhesKhabar

विश्वकप क्रिकेटकाे उपाधीका लागि फाइनलमा अष्ट्रेलिया र भारत भिड्ने

MadhesKhabar

Leave a Comment