वीरगन्ज,१९पुसःवीरगन्जमा शनिबार आयोजित ‘रन टुगेदर, राइज टुगेदर’ म्याराथन दौड प्रतियोगितामा बाराको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय उम्जनका छात्र पप्पु कुमार यादव प्रथम भएका छन् ।
यस्तै त्यहि विद्यालयमा अध्ययनरत पप्पुकै भाई धिरज प्रसाद यादव द्वितीय र पर्साको एसआर ग्यालेक्सी स्कूल वीरगन्जका सचिन यादव तृतीय भएका छन् । प्रथम हुने पप्पु यादवलाई पुरस्कार स्वरुप एक थान साइकलसहित नगद ५ हजार १ सय रुपैयाँ, द्वितीय हुने धिरजलाई नगद ५ हजार १ सय रुपैयाँ र तृतीय हुने सचिनलाई नगद २ हजार १ सय रुपैयाँ प्रदान गठरिएको छ ।
युथ सर्भ फाउण्डेशन र त्रिविया डिजिटल स्कुपले संयुक्त रुपमा आयोजना गरेको दौड प्रतियोगितामा प्रतियोगितामा पर्सा र बाराका गरी २ सय ५० भन्दा बढी छात्रछात्राहरुले भाग लिएका थिए ।
प्रतियोगिताको समापन समारोहलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले खेल र खेलाडी महानगरपालिकाको प्राथमिकतामा रहेको बताए। खेलकुदकै माध्यमबाट देशको पहिचान स्थापित हुने भएकाले खेलाडीको सम्मान र प्रोत्साहन अत्यावश्यक रहेको उनको भनाइ थियो। महानगरपालिकाले नयाँ खेलाडी उत्पादनदेखि उनीहरूको क्षमता विकास, सम्मान तथा प्रोत्साहनका कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरेको उनले जानकारी दिए। खेलकुदले अनुशासन, स्वास्थ्य र आत्मविश्वास बढाउने भएकाले युवालाई खेलप्रति आकर्षित गर्न स्थानीय सरकारले निरन्तर पहल गरिरहेको सिंहले बताए।
कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष रामकिशोर सिंह पराग, लायन्स क्लब इन्टरनेशनल ३२५ एसका प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर रामबिहारी पाण्डे, डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफ् बासु तिमिल्सिना, प्याब्सन पर्साकी उपाध्यक्ष सुशिला साह, पर्सा जिल्लाका एथ्लेटिक्स प्रशिक्षक विश्वेश्वर पटेलल लगायतकाको पनि सहभागिता थियो ।
युथ सर्भ फाउण्डेशनका अध्यक्ष नकुल गुप्ताले विशेषगरी विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको बताए। दौडप्रति रुचि भएका प्रतिभाहरूलाई अवसर प्रदान गर्नु पनि कार्यक्रमको मुख्य लक्ष्य रहेको उनको भनाइ थियो।
कार्यक्रम संयोजक दिपु वर्णवालले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबै संघ–संस्था, स्वयंसेवक, सहभागी तथा समर्थकप्रति आभार व्यक्त गरे।

