Madhes Khabar
समाज हेडलाइन

हिंसा र तिरस्कारविरुद्ध मौनता तोड्दै मधेसका महिलाहरू

माधुरी महत्तो

सप्तरी,१८पुसः हाम्रो समाजले महिलालाई सानैदेखि एउटा कुरा सिकाउँछ— ‘सहनु’ । तर, त्यही सहनशीलतालाई कमजोरी ठानेर गरिने हिंसाले जब सीमा नाघ्छ, तब महिलाहरूले न्याय र अस्तित्वको नयाँ लडाइँ सुरु गर्छन् । मधेश प्रदेशका विभिन्न जिल्लामा अहिले यस्तै एउटा मौन क्रान्ति सुरु भएको छ, जहाँ हिंसा पीडित महिलाहरू अब आँसु झारेर होइन, सीप र पौरखले आफ्नो भाग्य आफैँ लेख्दैछन् ।

१८ वर्षको पीडा र बाख्रापालनको नयाँ अध्याय

सप्तरीकको अग्निसाइरकृष्णसरवन गाउँपालिका एक महिलाको कथा कुनै चलचित्रको भन्दा कम छैन । विवाह भएको १८ वर्ष भयो, दुई सन्तान छन् । श्रीमान् कतार गएपछि केही समय ठिकै चल्यो, तर अचानक सम्पर्क टुट्यो । सम्पर्क हुँदा पनि श्रीमान् र घरपरिवारले उनीमाथि शंका गर्ने, कुटपिट गर्ने र खान-लाउन नदिने सम्मका हिंसा गरे ।

“माइतीको अवस्था कमजोर थियो, बुवा सानैमा बितेका थिए,” उनी भन्छिन्, “हिंसा सहेर बस्नु मेरो नियति नै हो भन्ने लागेको थियो । छोराछोरीको पढाइ समेत छुटाइदिएका थिए ।” तर, गाउँमा एकजना म्याडमले दिएको ‘हिंसा सहनु हुँदैन’ भन्ने जानकारीले उनमा हिम्मत पलायो । आज उनले बाख्रा पालन, भैँसी पालन र खेतीपाती गरेर आफ्ना सन्तानलाई विद्यालय पठाउन थालेकी छन् । उनी भन्छिन्, “जबसम्म आफूमा आत्मविश्वास आउँदैन, अरूले सहयोग गर्न सक्दैनन् । महिला आर्थिक रूपमा सशक्त हुनु धेरै जरुरी रहेछ ।”

धोका र तिरस्कारबीच बाँच्ने नयाँ संकल्प

मधेश प्रदेशकै अर्को घटनामा एक नाबालिग युवतीको कथा पनि उत्तिकै पीडादायी छ । उच्च शिक्षाका लागि काठमाडौँ पुगेकी उनी गाउँकै एक युवकको प्रेम जालमा परेर विवाह गरिन् । तर, ३ महिनाको गर्भवती भएपछि श्रीमान् र परिवारले उनलाई अलपत्र छोडेर भागे ।

“मैले विश्वास गरेर सबै सुम्पेँ, तर उनले धोका दिए,” ती युवतीले वेदना सुनाइन् । समाजको तिरस्कारले उनलाई एक पटक आत्महत्याको मोडसम्म पुर्‍यायो । तर, अहिले संरक्षण गृहमा रहेकी उनी सीप सिकेर, बच्चा जन्माएर समाजमा शिर उठाएर बाँच्ने तयारीमा छिन् । “गलत केटा हो, म होइन,” उनी दृढताका साथ भन्छिन्, “अन्तरजातीय विवाह र पितृसत्तात्मक सोचले मलाई पीडा दियो, तर अब म अरूका लागि प्रेरणा बन्न चाहन्छु ।”

 

बाँसका सामग्री र आत्मनिर्भरताको उज्यालो

त्यस्तै अर्की एक महिलाले बाँसका सामग्री बनाएर आम्दानी गर्न थालेपछि आफ्नो जीवन फेरिएको बताएकी छन् । पहिले १८ घण्टा काम गर्दा पनि मान्छेको दर्जा नपाउने र श्रीमान्को कुटाइ खाने उनी अहिले आफ्नै कमाइले घरखर्च चलाउँछिन् । “आर्थिक र सामाजिक सचेतना पाएपछि अहिले श्रीमान् विदेशमा भए पनि कसैको मुख ताक्नुपरेको छैन,” उनी गर्वका साथ भन्छिन् ।

तथ्याङ्कमा मधेशको डरलाग्दो चित्र

नेपाल प्रहरीको तथ्याङ्कले मधेश प्रदेशमा महिला हिंसाको अवस्था चिन्ताजनक देखाएको छ ।

* आर्थिक वर्ष २०७९/८०: ४,९२२ घटना

* आर्थिक वर्ष २०८०/८१: ५,५९६ घटना

* आर्थिक वर्ष २०८१/८२: ६,९४४ घटना

चालु आर्थिक वर्षको हालसम्म मात्रै २ हजारभन्दा बढी घरेलु हिंसा र ३ हजारभन्दा बढी सामाजिक हिंसाका उजुरी दर्ता भएका छन् । संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार विश्वमा हरेक १० मिनेटमा एक महिलाको हत्या आफ्नै नातेदारबाट हुने गरेको छ ।

अभियानमा पण्डित र झाँक्रीको साथ

महिला हिंसा न्यूनीकरणका लागि अहिले धार्मिक र सामाजिक अगुवाहरू पनि सक्रिय हुन थालेका छन् । सप्तरीका एक स्थानीय पण्डित भन्छन्, “कुनै पनि धर्मग्रन्थले महिलामाथि अत्याचार गर्न भनेको छैन । पितृसत्तात्मक सोचले महिलालाई दोषी देख्छ, तर हामी पुरुषहरू पनि अब महिलाको संरक्षण र सशक्तीकरणमा लाग्नुपर्छ ।” त्यस्तै, झारफुक गर्ने झाँक्रीहरूले पनि बिरामी परेका महिलालाई अस्पताल पठाउन थालेका छन्, जसले समाजमा सकारात्मक सन्देश दिएको छ ।

स्थानीय सरकार र सरोकारवालाको प्रयास

सप्तरीको कृष्णसरवण गाउँपालिकाकी उपाध्यक्ष कल्पना चौधरीका अनुसार तराई-मधेशको मुख्य समस्या नै घरेलु हिंसा हो । “धेरैलाई त यो हिंसा हो भन्ने समेत थाहा थिएन,” उनी भन्छिन्, “हामीले ईडब्लुपिएनमार्फत अभियान चलाएर धेरैको उद्धार गरेका छौँ र उनीहरूलाई सीपमूलक तालिम दिएर बजारको व्यवस्था पनि गरेका छौँ ।”

सामाजिक अभियन्ता नविन यादव र निलम मेहताका अनुसार पढेलेखेका कामकाजी महिलाहरू समेत हिंसाको सिकार भइरहेको अवस्थामा ग्रामीण भेगका महिलाहरूले हिम्मत गरेर बाहिर आउनु ठुलो परिवर्तन हो ।

संवैधानिक व्यवस्था र चुनौती

नेपालको संविधानको धारा ३८ ले महिलाको हक सुनिश्चित गरेको छ, जहाँ महिलाविरुद्ध कुनै पनि आधारमा हिंसाजन्य कार्य वा शोषण गर्न नपाइने उल्लेख छ । तर, रुढीवादी सोच, दाइजो प्रथा र लोकलाजका कारण अझै पनि धेरै महिलाहरू चुपचाप पीडा सहिरहेका छन् ।

सामाजिक अभियन्ताको नजरमा मधेशको महिला अवस्था

मधेश प्रदेशमा महिला हिंसाको जरो कति गहिरो छ र त्यहाँबाट बाहिर निस्कन कति चुनौतीपूर्ण छ भन्ने कुरालाई सामाजिक अभियन्ताहरूले नजिकबाट नियालेका छन्।

सामाजिक अभियन्ता नवीन यादव मधेश प्रदेशमा महिलाहरू अझै पनि ठूलो संख्यामा विभिन्न किसिमका हिंसाको सिकार भइरहेको तथ्याङ्कले देखाउने बताउँछन्। तर, पछिल्लो समय पीडामा परेका महिलाहरूले आफूलाई त्यस दलदलबाट माथि उठाएर जीवनलाई सकारात्मक रूपान्तरणतर्फ लगेको देख्दा आशा पलाएको उनी सुनाउँछन्। “हिंसामा परेर पनि आफूलाई सम्हाल्दै जीवनलाई नयाँ ढंगले अघि बढाएका कथाहरू सुन्दा मन नै आनन्दित हुन्छ,” यादव भन्छन्, “यो रूपान्तरणले समाजलाई नयाँ दिशा दिइरहेको छ।”

पढेलेखेकालाई त गाह्रो छ भने अरुको के कुरा : निलम मेहता

अर्की सामाजिक अभियन्ता निलम मेहता भने हिंसाको सामाजिक र मानसिक पक्षलाई उजागर गर्छिन्। उनी भन्छिन्, “हाम्रो समाजमा त कामकाजी र पढेलेखेका महिलाहरूले समेत हिंसा झेल्नुपर्ने अवस्था छ भने सोच्नुहोस्— जसको सारा संसार नै घरको चौघेराभित्र सीमित छ, उनीहरूको अवस्था कस्तो होला?”

मेहताका अनुसार, यस्तो कठीन परिस्थितिमा पनि हिंसा खेपेर बाहिर आउनु, सशक्त हुनु र आफ्नो लागि मात्र नभई अरूको सचेतनाका लागि अभियानमा जुट्नु धेरै ठूलो र महत्त्वपूर्ण परिवर्तन हो। उनी थप्छिन्, “लोकलाज र ‘थप हिंसा हुने हो कि’ भन्ने डरले अझै पनि धेरै महिलाहरूको वास्तविक पीडा दबिएरै बसेको छ। तर जो साहस गरेर बाहिर आउनुभएको छ, उहाँहरू नै अबको प्रेरणाको स्रोत हुनुहुन्छ।”

आज मधेशका महिलाहरूले एउटै सन्देश दिइरहेका छन् – “हिंसा सहनु भनेको पीडकको मनोबल बढाउनु हो ।” सीप, शिक्षा र आर्थिक आत्मनिर्भरता नै हिंसा विरुद्धको सबैभन्दा बलियो हतियार सावित भइरहेको छ । अब खाँचो छ त केवल समाजको हेर्ने दृष्टिकोणमा परिवर्तन र राज्यको प्रभावकारी कार्यान्वयनको ।

Related posts

पर्सा क्रिकेट संघको अध्यक्षमा मनिष सिंह सर्वसम्मत चयन

MadhesKhabar

हैजाको महामारी फैलिएको वीरगन्जमा बिरामीको संख्या बढ्दै, थप ७ मा हैजा पुष्टी, शंकास्पद २ को मृत्यु

MadhesKhabar

वीरगन्जको ड्राइपाेर्टमा डेढ वर्षदेखि थन्कियाे १८ हजार बाेत्तल विदेशी मदिरा

MadhesKhabar

Leave a Comment