Madhes Khabar
खेलकुद

फुटबलप्रति बालबालिकाको आकर्षण बढाउन बारामा ‘फिफा फुटबल फर स्कुल’ सुरु

बारा,९पुसःविद्यालय तहका बालबालिकामा फुटबलप्रतिको आकर्षण बढाउने उद्देश्यसहित अखिल नेपाल फुटबल संघ (एन्फा)ले बारामा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ गरेको छ। बारा जिल्ला फुटबल संघको समन्वयमा सिमरा रंगशालामा बुधबार आयोजित कार्यक्रममा एन्फाले १७ वटा विद्यालयलाई फुटबल हस्तान्तरण गर्दै कार्यक्रम सुरु गरेको हो।

एन्फा केन्द्रीय उपाध्यक्ष दावा लामाले सहभागी विद्यालयका प्रतिनिधिहरूलाई फुटबल हस्तान्तरण गर्दै यो कार्यक्रमले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे। उनले विद्यालयहरूलाई आवश्यक फुटबल सामग्री उपलब्ध गराई विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए।

एन्फा उपाध्यक्ष लामाका अनुसार यो कार्यक्रमको लक्ष्य केवल खेलाडी उत्पादन गर्नु मात्र नभई विद्यार्थीहरूलाई स्वस्थ, सक्रिय र अनुशासित बनाउनु पनि हो। पछिल्लो समय साना बालबालिका मोबाइल र डिजिटल गतिविधिमा व्यस्त हुँदै गएकाले उनीहरूलाई खेलकुदतर्फ आकर्षित गर्न ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम प्रभावकारी हुने लामाको विश्वास थियो।

१४ वर्षमुनिका विद्यार्थीलाई लक्षित गरी विश्व फुटबल महासंघ (फिफा) ले विश्वभर सञ्चालन गरिरहेको यो कार्यक्रम हाल एक सय ३७ देशमा लागू भइसकेको छ। सोही कार्यक्रमअन्तर्गत नेपालका ७७ वटै जिल्लाका एक सय ९३ विद्यालयमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम संचालन गरिएको छ

फिफाले यस कार्यक्रमका लागि नेपाललाई ३३ हजार ६ सय ४० थान फुटबल एन्फालाई उपलब्ध गराएको छ। जसलाई एन्फाले देशभरका विद्यालयहरूमा वितरण गरिरहेको छ। बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले यस कार्यक्रमले विद्यालय तहबाटै फुटबल संस्कृतिको विकास गर्दै भविष्यका लागि स्वस्थ र सक्रिय पुस्ता तयार पार्ने बताए।

विद्यालयस्तरबाट खेलकुदको विकास गर्न सुरु गरिएको यो कार्यक्रमले ग्रामीण तथा सहरी क्षेत्रका विद्यार्थीहरूलाई समान अवसर प्रदान गर्दै नेपाली फुटबलको भविष्य बलियो बनाउने विश्वास लिइएको लामाको भनाइ छ। मधेश प्रदेश फुटबल संघका कोषाध्यक्ष शम्भुसिंह ठकुरीले फिफाको यो कार्यक्रमले नेपाली फुटबलमा समेत टेवा पुग्नेमा आशावादी रहेको बताएका छन्।

कार्यक्रममा एन्फा केन्द्र, प्रदेश र जिल्लामा आवद्ध पदाधिकारी, विभिन्न विद्यालयका प्रतिनिधि, विद्यार्थीलगायत उपस्थित थिए । फुटबल वितरणसंगै विद्यार्थीले ड्रिल प्रदर्शन समेत गरेका थिए।साभारःअन्नपूर्णपोष्ट

Related posts

धनुषालाई हराउँदै पर्साले जित्याे कबड्डीकाे उपाधि

MadhesKhabar

पाँच पटकको च्याम्पियन मुम्बई आईपीएलको उपाधि दौडबाट बाहिरियो

MadhesKhabar

कुवेत ५५ रनमै अलआउट भएपछि नेपालको सानदार जित

MadhesKhabar

Leave a Comment