
काठमाडौँ,८पुसःजेनजी आन्दोलनका घटना छानबिनका लागि सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ ।
लेखकलाई मंगलबार पत्र काटिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने पत्र नकाटिएको उनको भनाइ छ ।
पत्रमा लेखकलाई आयोगमै ७ दिनभित्र उपस्थित भएर बयान दिन भनिएको छ ।आयोगले आन्दोलनका समयमा प्रशासनिक र सुरक्षा निकायको नेतृत्वमा रहेकाको बयान सकेपछि राजनीतिक नेतृत्वको बयान लिने प्रक्रिया सुरु गरेको हो ।
यसैका लागि तत्कालीन गृहमन्त्री लेखकलाई पत्र पठाइएको हो भने तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि पत्र पठाउने तयारी रहेको आयोगले जनाएको छ ।
सरकारका तर्फबाट भने २३ र २४ भदौको घटना छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन भई काम भइरहेको छ ।

