काठमाडौं,२४ वैशाख : मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले विधिवत रूपमा राजनीतिक जीवनमा प्रवेश गरेको घोषणा गरेकी छन् ।
सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् उनले नेपाली कांग्रेसबाट राजनीतिक जीवनमा प्रवेश गरेको घोषणा गरेकी हुन् ।‘आजबाट विधिवत रूपमा मैले राजनीतिक जीवनमा प्रवेश गरेको छु,’ कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकमा सहभागी भएको तस्बिरसहित अन्सारीले लेखेकी छन् ।
कांग्रेस ‘ल्याटरल इन्ट्री’ ले देशमा युवाको आकांक्षालाई सम्बोधन गर्न, पार्टीमा रूपान्तरण र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै परिवर्तनको सन्देश दिने उद्देश्यका साथ अगाडि बढेको उनको भनाइ छ ।‘एउटा कुरा स्पष्ट छ, जुन पार्टीले देशमा प्रजातन्त्र, गणतन्त्र र समाजवादको बीजारोपण गरेको थियो,’ अन्सारीले भनेकी छन्, ‘आजबाट विधिवत रूपमा नेपाली कांग्रेसमा आबद्ध भएको छु ।’
जेन–जी आन्दोलनपछि बदलिएको कांग्रेस र जरा अभियानमार्फत् सबैलाई जोड्ने सन्देशका साथ प्रशिक्षण प्रतिष्ठानसँग रहेर देश र पार्टी हितमा काम गर्ने उनले उल्लेख गरेकी छन् ।उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहेको प्रशिक्षण प्रतिष्ठानमा मंगलबार विभिन्न क्षेत्रका ३९ जना सदस्यमा नियुक्त भएका थिए ।
गत फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले अन्सारीलाई समानुपातिकतर्फको उम्मेदवार बनाएको थियो ।

