वीरगन्ज,४पुस:भोजपुरी प्रतिष्ठान वीरगन्जले आयोजना गरेकोे चित्रकला प्रतियोगितामा शारदा मावि बहुअरीकी छात्रा सञ्जुकुमारी बैठा प्रथम भएकी छन्।प्रतियोगितामा महानन्द प्रसाद उपाध्याय विद्यालयका छात्र मनन महतो द्वितीय र द्वारदेवी माध्यमिक विद्यालयका छात्र सञ्जिव राम तृतीय भएका छन्।
वीरगन्ज कलाकार समाज पर्साको सहकार्यमा आयोजित महानगर स्तरीय सामुदायिक विद्यालय चित्रकला प्रतियोगितामा १६ वटा विद्यालयका गरि ३४ जना विद्यार्थीले भाग लिएका थिए।
कार्यक्रममा बाेल्दै वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले भोजपुरी भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा भोजपुरी प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गरे।उनले प्रतिष्ठानलाई आगामी दिनमा विशेष प्याकेज तथा संस्थागत सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै यस्ता सिर्जनात्मक कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले बालबालिकाको सिर्जनात्मक क्षमता विकासमा चित्रकलाजस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै महानगरपालिकाले शैक्षिक तथा सांस्कृतिक गतिविधिमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए।
प्रतिष्ठानकी अध्यक्ष अनिता साहकाे अध्यक्षता तथा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहकाे प्रमुख आतिथ्यतामा आयाेजित प्रतियोगितामा प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्ण, शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछाने, लेखक दिनेश गुप्ता लगायतकाकाे उपस्थिति रहेकाे कार्यक्रम संयोजक तथा प्रतिष्ठानका कार्यसमिति सदस्य मुकेश महतोले जानकारी दिए।

