वीरगन्ज,२७कात्तिक : डाबर नेपाल प्रा.लि.ले वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ मा अवस्थित मनमिश्र आधारभूत विद्यालयलाई बेन्च र खानेपानी धारा (चापाकल) सहयोग गरेको छ। विद्यार्थीको पठन–पाठन सहज बनाउन र स्वच्छ पिउने पानीको उपलब्धता सुनिश्चित गर्न डाबर नेपालले ती सामग्री सहयोग गरेको हो।
विद्यालयमा पर्याप्त बेन्च नहुँदा विद्यार्थीहरूलाई पठनपाठनमा असुविधा हुँदै आएको थाहा पाएपछि लागि डाबर नेपालले विद्यालयलाई ३५ थान बेन्च र १ थान खानेपानी धारा प्रदान गरेको हो।
बिहीबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा डाबर नेपालका प्रबन्धक आलोक कुमार दुवेको उपस्थितिमा उक्त सामग्री विद्यालयका प्रधानाध्यापक राजाराम साहलाई हस्तान्तरण गरिएको हो।
त्यसअवसरमा दुवेले डाबर नेपालले सधैं समुदाय र शैक्षिक संस्थाको आवश्यकता अनुसार सहयोग गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक साहले विद्यार्थीहरूको सहज पठन–पाठनका लागि सामग्री सहयोग गरेकोमा कम्पनीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे।
कार्यक्रममा डाबर नेपालका मानव संसाधन विकास प्रमुख आशुतोष यादव, वडा नम्बर. ३२ का वडाध्यक्ष रेयाज अहमद, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छोटेलाल यादवका साथै शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति थियो।

