वीरगन्ज,२८मंसिरःवीरगन्जको घण्टाघर छेउको विपी उद्यानको जग्गामा अनाधिकृत रुपमा रहेको अस्थायी थोक तरकारी तथा फलफुल बजार र फुसका घरटहराहरु महानगरपालिकाले डोजर लगाएर खाली गराएको छ ।आइतबार बिहानै महानगरपालिकाको नगर प्रहरीसहित पुगेको डोजरले उद्यानको जग्गामा अनाधिकृत रुपमा रहेको तरकारी बजार र दलितहरुले बनाएका फुसका टाहराहरु भत्काएर खाली गराएको हो ।
त्यसक्रममा त्यहाँका तरकारी व्यपारी र दलितहरुले महानगरको डोजर र नगर प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै आगो बालेर सडकपनि केहिबेर जाम गरेका थिए । तर लगत्तै नेपाल र सशस्त्र प्रहरीको टोली पुगेर अवस्था नियन्त्रणमा लिएको थियो ।
शहरको बीच भागमा रहेको विपी उद्यान परिसरमा हरित पार्क बनाउने महानगरपालिकाको योजना छ । त्यसैकारण आइतबार डोजर लगाएर उद्यानको जग्गाको खाली गराइएको महानगरका मेयर राजेशमान सिंहले बताए ।
यसअघि २०८१ पुष २१ गतेपनि उद्यानमा हरित पार्क निर्माणका लागि भन्दै महानगरपालिकाले उद्यानको जग्गामा अनाधिकृत रुपमा रहेको थोक तरकारी बजारका संरचनामा डोजर चलाएको थियो । तर त्यसपछि फेरि थोक तरकारी व्यवसायी र केहि दलितहरुले अस्थायी संरचना बनाएर व्यापार र बसोबास गर्दै आएका थिए ।
गत शुक्रबरमात्रै महानगरपालिकाका नगर प्रहरीको टोलीले विपी उद्यानमै पुगेर माइकिंग गर्दै उद्यानको जग्गा खाली गर्न आग्रह पनि गरेका थिए ।तर त्यहाँ अनाधिकृत रुपमा रहेका थोक तरकारी व्यवसायी र टहरा बनाएर बसेका दलितहरुले आँफैले खाली नगरेपछि आइतबार बिहान महानगरपालिकाले डोजर लगाएर खाली गराएको मेयर सिंहका प्रेस सल्लाहकार नवराज फुयाँलले बताए ।
विपी उद्यानमा वर्षौदेखि अनाधिकृत रुपमा रहेका थोक तरकारी तथा फलफुल व्यवसायीका लागि महानगरपालिकाले हालै वीरगन्जको छपकैयाँस्थित रेल्वे रोड छेउको जग्गामा व्यवस्थित र सुविधासम्पन्न थोक तरकारी तथा फलफुल बजारको पक्की संरचना निर्माण गरिदिएको छ । त्यहि थोक बजार सार्न महानगरपालिकाले पटक पटक आग्रहपनि गर्दै आएपनि व्यपारीहरु त्यहाँ स्थानान्तरण हुन अटेर गर्दै आइरहेका छन् ।
विपी उद्यानको खाली जग्गामा अनाधिकृत रुपमा वर्षौदेखि तरकारी,फलफुलका थोक पसलका साथै अस्थायी टहरा बनाएर खाजानास्ताका पसल र लुगाकपडाका पसल सञ्चालनमा थिए ।
२०७३ फागुन ८ गतेपनि वीरगन्ज महानगरपालिकाले विपी उद्यानको जग्गामा गरिएको अतिक्रमण डोजर लगाएर खाली गराएको थियो । तर लगत्तै उद्यानको जग्गामा त्यसपछि फेरि व्यपारी र पसलेले फेरि कब्जा गरि टहरा बनाएर पसल थापेका थिए ।
आइतबार डोजर लगाएर खाली गराइएको बिपी उद्यानको जग्गामा करिब ७० करोड रकम खर्चेर सुन्दर र हरियाली पार्क बनाउने योजना अघि बढाउने मेयर सिंहले बताए।
उनले भने,‘विपी उद्यानको जग्गामा हरियाली र सुन्दर पार्क निर्माणको काम अब छिट्टै सुरु गरिनेछ ।’ सुरुमा विपी उद्यानमा मनोरञ्जनात्मक गतिविधि गर्ने स्थान, खेलकुदको व्यवस्थापन र ज्येष्ठ नागरिकको सुविधाका लागि समर्पित स्थान निर्माण गरिने सिंहले जानकारी दिए ।
झण्डै १० बिघा क्षेत्रफल रहेको विपी उद्यानमा अनाधिकृत रुपमा थापिएका थोक तरकारी मण्डीका दर्जनौ पसल र होटलबाट दिनहु निस्कने फोहोरमैलाको व्यवस्थापन नहुदा ती फोहोर जन्य वस्तु कुहिएर महिनौ दिन सम्म रहने गरेको थियो ।कुहिएका ती फोहोरबाट निस्कने दुर्गन्धले बजार छेउ भएर हिड्ने यात्रुहरुलाइ नाक थुन्नु पथ्र्यो।
शहरकै केन्द्रमा रहेको उद्यानमा अनाधिकृत रुपमा लगाइएको अव्यवस्थित एंव दुर्गन्धित थोक तरकारी बजार , त्यहा जथाभवी तरिकाले बनाइएका झुप्रा र टहरा तथा दुर्गन्धले वीरगन्ज महनगरकै सौन्दर्यलाइ नै कुरुप बनाएको थियो ।

