वीरगन्ज,२७मंसिरःपर्साको ग्रामीण भेगमा सरकारी अनुदानको रासायनिक मल किसानलाई सहुलियत मूल्यमा बिक्रि गर्नुका सट्टा कालोबजारी गर्दै आएको फेरि खुलासा भएको छ ।पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ५ महुवनबाट शनिबार प्रहरीले कालोबजारी गर्न लैजादै गरेको सरकारी अनुदानको डिएपी मल १५ बोरा नियन्त्रणमा लिएको छ ।
रातो नम्बर प्लेटको ई–लोडरमा लोड गरेर महुवनबाट गाँउतर्फ अवैध रुपमा लैजादैं गरेको १५ बोरा डिएपी मलसहित मल लोड रहेको लोडर र त्यसका चालकलाई प्रहरी चौकी महुवनको टोलीले शनिबार बिहान नियन्त्रणमा लिएको हो । तरपछि प्रहरी चौकी महुवनका इन्चार्ज उमेश यादवले मल मात्रै जफत गरेर ई–लोडर र त्यसका चालकलाई भने छोडि दिएको र जफत गरिएको मल आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएका छन् ।
ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलले भने अवैध रुपमा अन्यत्र लैजाँदै गरिएको सरकारी अनुदानको डिएपी मल १५ बोरामात्रै प्रहरी चौकी महुवनले नियन्त्रणमा लिएर बुझाएको जानकारी दिए । मल लोड गरिएको सवारी साधन र त्यसका चालक भने पक्राउ नपरेको उनले बताए । बरामद मल आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइने उनले बताए ।
नेपाल सरकारले विदेशबाट महंगोमा खरिद गरि ल्याउने रासायनिक मल अनुदानमा किसानलाई कृषि सहकारी संस्थाहरुमार्फत वितरण गर्दै आएको छ । शनिबार महुवनबाट प्रहरीले नियन्त्रणमा लिएको १५ बोरा डिएपी मल, मलको कालोबजारी गर्ने महुवनका कारोबारीले कृषि सहकारी संस्थाबाट गैरकानुनी रुपमा खरिद गरेर बिक्री गरेको र त्यो मल अन्य गाँउमा लैजाने क्रममा स्थानीयले देखेर खबर गरेपछि प्रहरीले समातेको महुवनका किसानले बताएका छन् ।
महुवनका स्थानीय किसानका अनुसार, शनिबार बिहान प्रहरीले मलसहितको गाडी नियन्त्रणमा लिएर प्रहरी चौकीमा लगेपछि मलको कालोबजारी गर्ने कारोबारीहरु प्रहरी चौकीमा पुगेर दबाबसमेत दिएका थिए ।तर प्रहरीले सरकारी अनुदानको मल समातेको हल्लीखल्ली भएपछि प्रहरी चौकी महुवनका प्रहरी सहायक निरीक्षक यादवले चालक र गाडीलाई उन्मुक्ति दिएर मलमात्रै जफत गरेर ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइदिएको स्थानीयले बताएका छन् ।

