वीरगन्ज,२७मंसिरःवीरगन्जमा शनिबार त्रिजुद्ध स्कूलका पूर्वविधार्थीहरुको आयोजनामा निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरिएको छ ।
वीरगन्ज–३ स्थित त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम प्राविधिक माध्यमिक विद्यालयमा विक्रम संवत २०४२ सालको एसएलसी ब्याचका पूर्वविद्यार्थीहरूको आयोजनामा विद्यालय परिसरमै आयोजित उक्त शिविरबाट ५ सय ६ जना लाभान्वित भएका छन् ।
शिविरमा ५ सय ६ जनाको आँखा परीक्षण गरिएकोमा ती मध्ये १ सय २५ जनामा मोतियाबिन्दुको समस्या देखिएको र उनिहरुको आगामी सोमबार वीरगन्ज सामुदायिक आँखा केन्द्रमा निःशुल्क शल्यकृया गरिने केन्द्रका सञ्चालक महेशसिंह धामीले जानकारी दिए ।
शनिबार आयोजित आँखा शिविरको उद्घाटन वीरगञ्ज महानगरपालिकाका मेयर तथा त्रिजुद्ध माविका वि.सं. २०४२ सालको एसएलसी ब्याचका पूर्वविद्यार्थी राजेशमान सिंहले गरेका थिए ।त्यसअवसरमा बोल्दै मेयर सिंहले सहरी तथा बजार क्षेत्रमा समेत मोतिया बिन्दुका बिरामी भेटिनु चिन्ताको विषय भएको बताए। उनले आँखासम्बन्धी रोगको रोकथाम तथा उपचारका लागि महानगरपालिका निरन्तर रूपमा क्रियाशील रहेको जनाए।
वीरगन्ज सामुदायिक आँखा केन्द्रका सञ्चालक धामीले मोतिया बिन्दु समयमै पहिचान गरी शल्यक्रिया गरेमा पूर्ण रूपमा निको हुने रोग भएको बताउँदै आँखामा समस्या देखिएमा ढिलाइ नगरी स्वास्थ्य परीक्षण गराउन आग्रह गरे
शिविरमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, साहिब दरबार वीरगन्जका अध्यक्ष उमेशलाल सहनी,सुरज गुप्ता, अवधेश यादव लगायतको पनि सहभागिता रहेको थियो।शिविरमा वीरगन्ज सामुदायिक आँखा केन्द्रका नेत्ररोग विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीले प्राविधिक सहयोग गरेका थिए ।

