
वीरगन्ज,२कार्तिक: वीरगन्ज नाकामा रहेका दुवै भन्सार कार्यालय फेरि राजश्व संकलनकाे लक्ष्य भेट्याउन असफल भएका छन् ।
देशकाे कूल आयाता निर्यातकाे झण्डै ७० प्रतिशत काराेबार हुने वीरगन्ज नाकामा वीरगन्ज भन्सार एकीकृत भन्सार जाँच चाैकी (आईसिपी) र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय छन् ।
चालु आर्थिक वर्षकाे सुरुवाती दुई महिना राजश्व संकलनकाे लक्ष्य पुरा गर्न असफल भएका यी दुवै भन्सार कार्यालयकाे दशैं तिहार जस्ता ठूला चाडपर्वका कारण गत असाेजमा भने राजश्व संकलनमा व्यापक सुधार आउने अपेक्षा गरिएको थियाे ।तर गत असाेजमापनि यी दुवै भन्सार कार्यालयले फेरि राजश्व संकलनकाे लक्ष्य पुरा गर्न असफल भएका हुन् ।
राजश्व विभागले वीरगन्ज भन्सारलाई गत असोज महिनामा २१ अर्ब ८४ करोड १९ लाख ५० हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएकाे थियाे ।तर वीरगन्ज भन्सार कार्यालयले लक्ष्यकाे ६४ दशमलव ३५ प्रतिशतमात्र अर्थात् १४ अर्ब २७ करोड ४४ लाख २१ हजार रुपैयाँमात्र राजश्व उठाएकाे छ ।
त्यसैगरी, चालु आर्थिक वर्षमा साउनदेखि असोजसम्म तीन महिनामा विभागले ५६ अर्ब ८४ करोड ६३ लाख ९२ हजार रुपैयाँ राजश्व असुलीको लक्ष्य दिएकोमा वीरगन्ज भन्सार कार्यालयले लक्ष्यकाे ६८ दशमलव ३५ प्रतिशतमात्र अर्थात् ३८ अर्ब ८५ करोड ५० लाख ९३ हजार रुपैयाँमात्र राजश्व उठाउन सकेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले जानकारी दिए।
वीरगन्ज भन्सार कार्यालयले गत भदाै र साउन महिनामापनि राजश्व संकलनकाे लक्ष्य पुरा गर्न सकेकाे थिएन। वीरगन्ज भन्सार कार्यालयले गत भदाैंमा लक्ष्यकाे ६५ दशमलव ५९ प्रतिशतमात्र र गत साउनमा पनि लक्ष्यकाे ७५ दशमलव ९६ प्रतिशतमात्र राजश्व संकलन गर्न सकेकाे थियाे ।
वीरगन्ज भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत बरुवाल असोज महिनामा दसैं, तिहारजस्ता पर्वमा आयात बढेर गत असाेजमा राजस्व असुली बढ्ने अनुमान गरिएकाे भएपनि राजश्व बढी उठ्ने मालवस्तुकाे आयात नै कम भएकाले राजश्व संकलनकाे लक्ष्य पुरा गर्न नसकिएको बताए ।
उनका अनुसार, वीरगन्ज भन्सार कार्यालयमा राजश्व बढी उठ्ने वस्तुमा नयाँ सवारी साधन , इन्धन, ओैधाेगिक कच्चा पदार्थ इत्यादि हुन् ।तर साउनदेखि नै ती यी वस्तुको आयात नै कम भईरहेकाले त्यसकाे सिधा असर राजश्व संकलनमा परेकाे उनले बताए ।
यता सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयपनि गत असाेजमा राजश्व संकलनकाे लक्ष्य भेट्याउन असफल भएकाे छ । राजश्व विभागले गत असोज महिनामा ५ अर्ब ३९ करोड १० लाख ९९ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य सुक्खा बन्दरगाह भन्सारलाई दिएकाे थियाे ।तर उसले पनि लक्ष्यको ७४ दशमलव ५२ प्रतिशतमात्र अर्थात् ४ अर्ब ४६ करोड ४१ लाख ७३ हजार रुपैयाँमात्र राजश्व उठाएकाे छ ।
त्यसैगरी,राजश्व विभागले सुक्खा बन्दरगाह भन्सारलाई चालु आर्थिक वर्षकाे साउनदेखि असोजसम्म तीन महिनामा १५ अर्ब ६० करोड ९८ लाख २५ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएकाे थियाे ।तर सुक्खा बन्दरगाह भन्सारले उक्त तीन महिनामा लक्ष्यकाे ८४ दशमलव ०३ प्रतिशतमात्र अर्थात १३ अर्ब ११ करोड ६२ लाख ३३ हजार रुपैयाँ राजश्व संकलन गरेको सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत सुशील शर्माले जानकारी दिए।
सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत भदाैं महिनामापनि लक्ष्य भन्दा करिब १५ प्रतिशत कम अर्थात लक्ष्यकाे ८५दशमलव १५ प्रतिशतमात्र राजश्व संकलन गरेकाे थियाे ।
गत असोज महिनामा भने पाँच दिनसम्म मुआब्जा पिडित जग्गाधनीहरुले भन्सारकाे गेटमै धर्ना दिएका कारण पाँच दिन भन्सार कार्यालयकाे सेवा ठप्प भएकाले त्यसकाे प्रत्यक्ष असर राजश्व संकलनमा पर्न गई लक्ष्य भन्दा कम राजश्व उठेकाे शर्माले बताए ।
सुख्खा बन्दरगाह र आईसिपी बिचकाे ६२ बिघा जग्गा सरकारले ७ वर्षदेखि अधिग्रहण गरेर राेक्का गरेकाे तर मुआब्जा भने नदिएकाे भन्दै जग्गाधनीहरुले असाेज १४ देखि १८ गतेसम्म सुख्खा बन्दरगाह भन्सारकाे मूलगेटमै पाँचदिन सम्म धर्नामा बसेर प्रदर्शन गरेका थिए।

