Madhes Khabar
राजनीति हेडलाइन

वीरगन्जमा विद्यार्थी संगठनले निकालेको मशाल जुलुशमा प्रहरीले हस्तक्षेप गर्दा विद्यार्थी नेताहरु घाइते

वीरगन्ज, ३१ असार : वीरगन्जमा आइतबार बेलुकी राजनीतिक दल सम्बद्ध विभिन्न विद्यार्थी संगठनहरुले मशाल जुलुश निकालेका छन् । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको परिक्षा केन्द्र बारा जिल्लामा सारिएको विरोधमा नेविसंघ, अनेरास्ववियु, समाजवादी विधार्थी युनियन लगायतका विद्यार्थी संगठनहरुले संयुक्त रुपमा मशाल जुलुश निकालेका हुन् ।

विद्यार्थी संगठनहरुले निकालेको मशाल जुलुशमा प्रहरीले हस्तक्षेप गरेर बल प्रयोग गर्दा चार जना विद्यार्थी नेताहरु घाइते पनि भएका छन् । घाइते हुनेहरुमा अनेरास्ववियुका जिल्ला सचिव पवन यादव , अनेरास्ववियुकै क्याम्पस इकाई उपाध्यक्ष अरमान हासमी , नेविसंघका बिटु पटेल र समाजवादी विद्यार्थी युनियनका हरि यादव रहेका छन् । उनिहरुको नारायणी अस्पतालमा उपचार गरिएको अनेरास्ववियुका वीरगन्ज महानगर अध्यक्ष आसिफ अहमदले जानकारी दिए ।

आइतबार बेलुकी वीरगन्जको तीन स्थानबाट एकैसाथ निकालिएको मशाल जुलुश घण्टाघर चोकमा पुग्दा प्रहरीले हस्तक्षेप गरि बल प्रयोग गरेको नेविसंघ पर्साका सभापति रमेश यादवले बताए ।

ठाकुरराम बहुमुखी क्याम्पसको व्यवस्थापन संकायको स्नातक तहको तेश्रो वर्षको परिक्षा त्रिभुवन विश्वविद्यालयले बाराको सिमरामा सारेपछि त्यसको विरोधमा पर्साका विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आइरहेका छन् । ठाकुरराम क्याम्पसबाट अन्यत्र सारिएको परिक्षा केन्द्र फिर्ता ल्याउन माग गर्दै विद्यार्थी संगठनहरुले एक हप्तादेखि ठाकुरराम क्याम्पस बन्द गराएका छन् ।

यहिबिचमा परिक्षा केन्द्र सिमरामा सारिएपछि गत सोमबार त्यहाँ परिक्षा दिएर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परि ठाकुरराम क्याम्पसमा अध्ययनरत विद्यार्थी विजय शर्माको मृत्यु भएपछि विद्यार्थी संगठनहरु थप आक्रोशित भएका छन् ।

ठाकुररामको परिक्षा केन्द्र फिर्ता ल्याउनु पर्ने र दुर्घटनामा परि मृत्यु भएका विद्यार्थी शर्माको परिवारलाई क्षतिपुर्ति दिनु पर्ने माग गर्दै आइतबार बेलुकी मशाल जुलुश निकालिएको नेविसंघका सभापति यादवले बताए । आफुहरुको माग पुरा नगरिए आन्दोलन अझ चर्काउदै लग्ने चेतावनीपनि उनले दिए ।

 

Related posts

सार्वजनिक यातायातको भाडा बढाउने सरकारको निर्णय

MadhesKhabar

वीरगन्ज पिपराका युवा पटेलद्धारा मानव सेवा आश्रमलाइ नगद ५० हजार सहयोग

MadhesKhabar

आशा जगाउँदै वीरगन्ज कृषि औजार कारखाना

MadhesKhabar

Leave a Comment