वीरगन्ज,२२मंसिर:बारामा पाँच वर्षदेखि रोकिएको जमुनि सिँचाइ योजनाले गति लिएको छ । ठेकेदार किसान कन्सट्रक्सन प्रालि काठमाडौंले गत सातादेखि योजना निर्माणस्थलमा काम सुरु गरेको छ ।
मुआब्जा विवाद र व्यारेजमा विद्युतीय ढोकाको अभावमा यो योजना पाँच वर्षदेखि अधुरो रहेको थियो । सिँचाइ विभागले आह्वान गरेको टेण्डर किसान कन्सट्रक्सनले १२ करोड १२ लाख ३ हजार ८ सय १७ रुपैयाँमा सकार गरेर गत सातादेखि निर्माण कार्यसमेत सुरु गरेको छ ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर एवम् सूचना अधिकृत सुरेश प्रसाद साहले ठेकेदार कम्पनीले योजना स्थलमा कार्यालय भवन, गोदाम र चौकिदार भवनको निर्माण कार्य सुरु गरी सकेको बताए । अन्य भवन समेत क्रमशः निर्माण गर्दै जाने छ ।
व्यारेजको तटीय क्षेत्रमा रहेको जग्गाको मुआब्जा वितरण कार्य पनि सँगसँगै जारी रहने भएकाले अब स्थानीयबाट योजनाको निर्माण कार्यमा कुनै बाधा अवरोध नहुने साहले दाबी गरे । व्यारेजको तटबन्धमा परेको स्थानीयको करिब १७ बिघा १० कठ्ठा १० धुर जग्गाको मुआब्जा वितरण गर्नुपर्ने दायित्व रहेकोमा ११ बिघाभन्दा बढी जग्गाको मुआब्जा वितरण भइसकेको छ ।
नेपाल सरकारको अनुदान तथा विश्व बैंकको ऋणमा बाराको आदर्श कोतवाल गाउँपालिका तथा पचरौता नगरपालिकाको सीमामा उक्त सिँचाइ योजनाको मूल संरचना ५ वर्षअघि नै निर्माण भइसकेको छ । योजनामा ३५ करोड रुपैयाँसमेत खर्च भइसकेको छ ।
६ वर्ष अघि बाराको पूर्वी र रौतहटको पश्चिमी भेगका किसानलाई वर्षैभरी सिँचाइ सुविधा उपलब्ध गराउने महात्वाकांक्षी योजनाको रुपमा जमुनि सिँचाइ योजनाको काम सुरु गरिएको थियो । तर व्यारेजमा विद्युतीय ढोका जडानको काम सुरु हुन सकेको थिएन ।
व्यारेज निर्माणपछि १२ करोड रुपैयाँ लागतमा तटबन्ध निर्माणको काम पनि ३ वर्षअघि सुरु गरिएको थियो । तर तटबन्ध निर्माणको काम पनि ८० प्रतिशतमात्र सम्पन्न भएर रोकिएको थियो । डुबान क्षेत्रका जग्गा धनीले मुआब्जा नपाउन्जेल काम अघि बढ्न नदिने अडान लिइ उच्च अदालत वीरगन्जबाट गत जेठमा ‘स्टे अर्डर’ गराएपछि तटबन्ध निर्माणको काम पनि अधुरो रहन गएको थियो ।
व्यारेजमा पानी भण्डारण प्रयोजनका लागि व्यारेजदेखि उत्तरतर्फ निर्माणाधीन तटबन्धमा स्थानीय १ सय बढी किसानको झण्डै १७ बिघा जग्गा पर्छ । अब तटबन्धको बाँकी काम पनि सम्पन्न हुने साहले बताए ।
योजना सन्चालनमा आएपछि गण्डक नहरको ब्लक नम्बर ११ देखि १५ सम्म बाह्रै महिना पानी उपलब्ध हुने छ ।
जसबाट बाराको पूर्वी र रौतहटको पश्चिमी भेगका किसान लाभान्वित हुनेछन् । सन् १९७१ देखि सञ्चालनमा आएकोमा गण्डक नहरको पुछारका अन्तिम ४ ब्लकहरुसम्म सामान्यतया पानी पुग्दैन । जमुनि सिँचाइ योजना त्यसकै विकल्पको रुपमा निर्माण गरिएको हो ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्ज मार्फत व्यारेज र यसका संरचना निर्माण भइरहेका छन् । योजना अन्तर्गत आव २०७२/०७३ मा व्यारेज र त्यसका अन्य संरचनाको निर्माण कार्य सुरु गरी आव २०७६/०७७ मा व्यारेज निर्माण कार्य सम्पन्न भइसकेको छ ।
जमुनी व्यारेजमा कूल १३ वटा ढोका छन् । खोलाको तल्लो भागमा ४ वटा ढोका छन् । २ ढोका हेड रेगुलेटर हुनेछन् । नहर सञ्चालनमा आएपछि नहरमा प्रति सेकेन्ड ७ हजार ५ सय लिटर पानी उपलब्ध हुने छ । सामान्य अवस्थामा जमुनी खोलामा २५ हजार लिटर प्रति सेकेन्ड पानी प्रवाह भइरहेको छ । बाढी आएको बेला प्रति सेकेन्ड ४ लाख लिटर भन्दा पनि बढी पानी यो खोलामा प्रवाह हुन्छ ।
जमुनी व्यारेज आफैंमा ठूलो योजना भएको र बर्षेनि बाढीको समयमा खोलामा बढी पानी प्रवाह भएर व्यारेजका ढोका खोल्नुपर्ने हुन्छ । त्यति बेला परम्परागत ढंगले ढोका खोल्नका लागि प्रति ढोका जनही ३ देखि ४ जना जनशक्ति आवश्यक पर्छ ।
तर विद्युतीय ढोका भए स्विच अन गरेलगत्तै व्यारेजका ढोका खुल्नेछन् । जसले गर्दा व्यारेजमै मानवीय तथा भौतिक जोखिम पनि कम हुन जान्छ । बाढी आएको बेला समयमा ढोका खोल्न नसके खोलाले अन्त बाटो मोडेर जान सक्ने प्रबल सम्भावना पनि हुन्छ । यस्तो अवस्थामा व्यारेज उपयोगविहीन हुने भई आसपासका गाउँहरुमा जनधनको पनि ठूलो क्षति हुन सक्छ ।
योजना अन्तर्गत जमुनी खोलाबाट निकालिने नहरको पानी ड्यामबाट करिब ५ सय मिटर दक्षिणमा रहेको गण्डक नहरमा झार्ने योजना छ । जसबाट बाराको १ हजार २ सय र रौतहटको ८ हजार ३ सय गरी कूल ९ हजार ५ सय हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध हुने छ ।शंकर आचार्य/कान्तिपुर

