वीरगन्ज,०३माघःनेपालले अब चीनसंग ऋण सहयोग भन्दापनि अनुदान सहयोगमा जोड दिनुपर्ने परराष्ट्रविद् र अर्थविद्हरुले सुझाव दिएका छन् ।वीरगन्जमा आयोजित नेपालको पूर्वाधार विकासमा चीनको भूमीका विषयक कार्यशाला गोष्ठीमा सहभागीहरुले वैदेशीक ऋणको भारी अब नेपालले थेग्ने अवस्था नरहेको भन्दै चीन,भारत लगायतका छिमेकी देशबाट प्राप्त हुने वैदेशीक सहयोगमा ऋण भन्दापनि अनुदान सहयोगलाई नै जोड दिनुपर्ने सुझाव दिएका हुन् ।
कार्यक्रमका प्रम्ुख वक्ता पूर्व अर्थमन्त्री एंव पूर्व परराष्ट्रमन्त्री डा. रामशरण महतले हालै नेपालले चीनसंग सम्झौता गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) का सन्दर्भमा आफ्नो सुझाव दिदैं नेपालले उक्त परियोजना ऋण सहयोगमा नभई सहयोग अनुदान सहयोगमा लिनु पर्ने बताए ।उनले भने,‘नेपालको वैदेशीक ऋणको भारी थेग्नै नसक्ने अवस्थामा पुगिसकेको छ । बीआरआईमार्फत फेरि अर्को ऋण थप्नु देशका लागि घातक हुन्छ । त्यसका कारण बीआरआई अनुदान सहयोगमा लिनुपर्छ न कि ऋण सहयोगका रुपमा ।’
चीन सरकारबाट यसअघि ऋण सहयोगमा बनेका परियोजनाहरुको प्रतिफल राम्रो नदेखिएको जिकिरपनि उनले गरे । उनले भने,‘ उदाहरणका लागि पोखरा अन्र्तराष्ट्रिय विमानस्थललाई नै हेरे पुग्छ । पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सुरुमा ४ अर्बको परियोजना थियो,पछि बढाउँदै लगेर त्यो २४ अर्बमा पुग्यो ।तर आज त्यसको हरिबिजोग छ ।’त्यसैका कारण बीआरआई परियोजना ऋण सहयोगमा नभई अनुदान सहयोगमा लिनपर्ने अडान नेपाली कांग्रेसको रहेको कांग्रेसका प्रवक्ता समेत रहेका डा. महतले बताए ।
पछिल्लो ७ \८ वर्षमा नेपालको वैदेशीक ऋणको ग्राफ निक्कै बढ्दो क्रममा रहेको अवस्थामा बीआरआई वा अन्य वैदेशीक सहायतका परियोजनामा अनुदान सहयोगलाई नेपाल सरकारले बढि प्राथमिकता दिनुपर्ने महतले तर्क दिए ।उनले भने,‘कांग्रेसले बिआरआई सिद्धान्त त हुँदै हुदैन भने भनेकै छैन ।तर अहिलेका लागि विशिष्ट परिवेशमा लोन(ऋण) सहयोग लिनु उपयुक्त छैन ।त्यसकारण त्यसलाई अनुदान सहयोगमै लिनु पर्छ भनेर कांग्रेसले भनिरहेको छ ।’
उनले नेपालको हितमा बढी भन्दा बढी प्रतिफल दिने पूर्वाधारका आयोजनाका लागि मात्रै वैदेशीक ऋण सहयोग लोन लिनुपर्ने बताए ।चीन नेपालका लागि भारतजस्तै अभिन्न मित्रराष्ट्र रहेको जनाउँदै उनले भने,‘ भारतजस्तै चीनसंगपनि हाम्रो महत्वपूर्ण सम्बन्ध छ।हामीले पनि नेपालको स्वार्थ र आवश्यकतालाई केन्द्रमा राखेर विदेश नीति बनाउनु पर्छ ।विदेशी सहयोग लिनुपर्छ ।’
विश्व अर्थतन्त्रमा चीन र भारत दुई ठूला शक्तिशाली राष्ट्रहरु रहेको भन्दै महतले भने,‘ उनिहरुले भने अनुसारको गरिएन भने उनिहरु रिसाउछन् कि ? खुशी हुदैनन् कि ? भनेर हामी डराएर सम्बन्ध राख्यौं वा कुनै परियोजनामा डिल गर्यौ भने देश ठूलो दुर्घटनामा पर्न सक्छ।’
हरेक देशले आफ्नो स्वार्थलाई पहिलो प्राथमिकतामा राखेर आफ्नो परराष्ट्र नीति बनाउने गरेको भन्दै उनले चीनको सहयोगलाई पनि नेपालले आफ्नो हितलाई केन्द्रमा राखेर लिनुपर्ने तर्क गरे । उनले भने,‘ चिन मात्रै होईन अरु देशको वैदेशीक सहयोगहरुपनि यसरी नै लिनु पर्छ ।’
अहिले अर्थतन्त्रमा मजबुत भएका देशहरुले दिदैं आएको वैदेशीक सहायता अनुदानमा भन्दापनि ऋण सहयोगमा दिने प्रवृति बढेको जनाउँदै डा. महतले,‘ पछिल्लो समय वैदेशीक सहयोगको स्वरुपमा बदलाव् आइरहेको छ ।अनुदानको ठाँउमा ऋणका रुपमा भईरहेको छ।यो चीनको मात्र होइन ग्लोबल्ली ट्रेन्ड नै यस्तै छ ।’बीआरआईका सन्दर्भमा अब नेपालले त्यसको दीर्घकालिन प्रतिफल बारे सोच विचार गरेर मात्र टुंगोमा पुग्नु पर्ने उनको भनाई थियो ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति तथा सांसद राजकिशोर यादवले पनि यदि नेपालको हित चाहने हो भने बीआरआई परियोजना अनुदान सहयोगमै लिनुपर्ने बताए । उनले भने,‘ ऋण सहयोगमा लिनै हुदैन । किनकि वैदेशीक ऋणको भार यति धेरै भइसकेको छ कि फेरि अर्को ऋण सहयोगको परियोजना लिने अवस्थामा नेपाल छैन ।त्यसकारण बीआरआई परियोजना अनुदान सहयोगमा नै नेपालले लिनुपर्छ।’
पछिल्लो समय चिनले नेपालको सरकारसंग भन्दापनि नेपालका कुनै दल विशेषसंग डिल गर्न थालेपछि नेपालमा चीन प्रति हेर्ने नेपालका दल र नागरिको दृष्टिकोण फेरिएको उनले धारणा राखे ।साथै बिआरआईका सन्दर्भमा सत्तामै रहेका दुई ठूला दल कांग्रेस र एमालेको मत फरक फरक आउनु दुर्भाग्य भएको टिप्पणीपनि उनले गरे ।
कुनैपनि देशसंग वैदेशीक सहायतका सन्दर्भमा छलफल वा संवाद गर्दा नेपालको स्वार्थलाई पहिलो प्राथमिकतामा राखेर निडर भएर नेपाली पक्ष प्रस्तुत हुनुपर्नेमा उनले जोड दिए । जनता समाजवादी पार्टीका नेता समेत रहेका यादवले भने,‘चीन हाम्रो छिमेकी मुलुक हो। विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देशपनि हो। त्यसकारण चिनसंग डिल गर्दा पहिले हाम्रो आवश्यकता के हो ? अवस्था के छ ? त्यसले दीर्घकालीन फाइदा के छ ? त्यो विचार गरेर मात्रै अन्तिम निर्णयमा पुग्नुपर्छ ।’
पछिल्लो समय नेपालमा चीनको भूमिका बढेर गएकोमा भारत सशंकीत बनेको चर्चा चलेको भन्दै उनले भने,‘ हामीले चीनसंग डिल गर्दा, दक्षिणको हाम्रो छिमेकी मुलुक भारतलाई हामी चीनको सहयोगले तपाईको अहितमा कुनै काम हुन दिदैनौ, कुनै समस्यामा पर्न दिदैनौ भनेर भारतलाई पनि विश्वास दिलाउनु नै पर्छ ।’
पूर्व परराष्ट्र सचिव एंव पूर्व राजदूत मधुरमण आचार्यले बिआरआईका सन्दर्भमा नेपालका दलहरु मत हुनुपर्नेमा जोड ििदए । उनले भने,‘ दलहरुले आन्तरिक रुप्मै एक मत बनाएर बाहिर एक स्वर आयो भने चीनसंग डिल गर्न सहज हुन्छ।’
चीन वा अरु कुनैपनि देशले नेपालमा सहयोग वा लगानी गर्दा आफ्नो स्वार्थका लागि नै गर्ने गरेको भन्दै उनले भने,‘ हामीले यो बुझ्नु पर्छ कि चीनलेपनि अर्बाै डलर बिना स्वार्थ लगानी गर्न चाहेको छैन ।तर हामीले त्यसलाई हाम्रो स्वार्थमा र देशको हितमा छ कि छैन ? त्यसको विचार गरेर मात्रै निर्णयमा पुग्नु पर्छ।’
चीन व्यपारिक राष्ट्रका रुपमा उदाइरहेको भन्दै उनले चीनको सहयोगमा व्यपारिक स्वार्थ रहेको बताए । उनले भने,‘ अब त्यसमा हाम्रो स्वार्थ र हित खोज्नुपर्छ।बीआरआईमा पनि त्यस्तै गर्नुपर्छ।’
सेन्टर फर सोसल इनोभेसन एण्ड फरेन पोलिसी(सेसिफ) का अध्यक्ष तथा पूर्व राजदूत विजयकान्त कर्णको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका कृषिमन्त्री जनार्दन सिंह क्षेत्री,पूर्वमन्त्री ओमप्रकाश शर्मा,वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगी,नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी,वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल,बरिष्ठ उपाध्यक्ष हरि गौतम,जीतपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने लगायतकालेपनि बीआरआई परियोजना बारे आ–आफ्नो सुझाव दिएका थिए ।

