वीरगन्ज,७ पुसः केहि दिन यता तराई–मधेसमा चिसो अत्याधिक बढ्दै गएपछि पर्सा जिल्लाका विभिन्न पालिकाहरुले विद्यालयहरुमा बिदा दिन थालेका छन् ।पर्साको वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका तथा पकहाँमैनपुर र छिपहरमाई गाँउपालिकाले विद्यालयहरुमा बिदा दिएका हुन् ।
वीरगन्ज महानगरपालिकाले सोमबारदेखि बुधबारसम्म गरी ३ दिनका लागि सामुदायिक तथा संस्थागत गरी सबै विद्यालयहरुमा पठनपाठन स्थगीत गरिएको जनाएको छ । वर्षे सट्टे बिदाबाट कट्टा हुनेगरी पुसर ७ देखि ९ पुस गतेसम्म पठनपाठन स्थगीत गरिएको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले जानकारी गराए । उनका अनुसार, पुस १० गते क्रिसमसको सार्वजनिक बिदा, पुस ११ गते यसअघि नै शेक्षिक क्यालेण्डेरमा वर्षे बिदाबाट कट्टा हुने गरि बिदा दिएको उल्लेख भएको तथा पुस १२ गते शनिबार परेकाल्े अब पुस १३ गते आइतबारदेखिमात्रै विद्यालयहरुमा पठनपाठन सुचारु हुने लामिछानेले बताए ।
यस्तै पर्साकै अन्य तीन पालिकाले पनि केहि दिन यतादेखि अचानक चिसो बढ्दै गएपछि विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै विद्यालयहरुमा जाडो बिदा दिएका छन् ।
पकहाँ मैनपुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख सञ्जय चौहानका अनुसार विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बर्षे बिदाबाट कट्टा हुने गरी पुस ८ र ९ गते दुई दिनको जाडो बिदा दिइएको हो।यस्तै पोखरिया नगरपालिकाले पनि विद्यालयहरुमा पुस ८ देखि ११ गतेसम्मका लागि बिदा दिएको छ भने छिपहरमाई गाउँपालिकाले भने पुस ८ र ९ गते गरी दुई दिनका लागि मात्रै विद्यालयहरुमा जाडो बिदा दिइएको जनाएको छ।
तराई–मधेसमा एक साता यता चिसो बढ्दै गएका कारण जनजीवन प्रभावित भएको छ। हुस्सु लाग्नुका साथै चिसो हाजा पनि चल्न थालेपछि खासगरी वृद्धवृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरूलाई बढी सास्ती भएको छ।

