वीरगन्ज,१३जेठः वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह आँफै पर्सा जिल्ला अदालतमा उपस्थित भएका छन् ।नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि मंगलबार पर्सा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि मेयर सिंह बुधबार बिहान ९ बजे कार्यालय समय सुरु हुनासाथ आँफै पर्सा जिल्ला अदालतमा उपस्थित भएका हुन् ।
आँफूविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको जानकारी सञ्चारमाध्यममार्फत पाएपछि न्यायिक प्रक्रियामा सहयोग पु¥याउन स्वेच्छाले आँफु बुधबार बिहान अदालतमा उपस्थित भएको मेयर सिंहले बताए ।
यद्यपि, पर्सा जिल्ला अदालतमा मुद्दाको चाप धेरै रहेका कारण बुधबार उनविरुद्धको मुद्दामा सुनुवाइ हुन नसक्ने अवस्था रहेको अदालत प्रशासनबाट जानकारी पाएपछि मेयर सिंह अदालतबाट फर्किएको उनका स्वकीय सचिव सत्यराज घिमिरेले बताए ।
मेयर सिंहले पनि बुधबार बिहान आँफु अदालतमा पुगेर अदालतको प्रशासन शाखामा उपस्थित भएको तर मुद्दाको चाप धेरै रहेका कारण बुधबार आफ्नो मुद्दामा सुनुवाइ नहुने अवस्था रहेपछि आँफु फर्किएको बताए । आँफु अदालतको समन्वयमै रहेको भन्दै मेयर सिंहले अब सार्वजनिक विदा सकिएपछि फेरि आँफै अदालतमा उपस्थित हुने जानकारी अदालत प्रशासनलाई गराएर अदालतबाट फर्किएको बताए ।
पर्सा जिल्ला अदालतले मंगलबार नागरिकता लिखत सम्बन्धि मुद्दामा मेयर सिंह, उनकी कान्छी श्रीमति सिधन्धुपाल्चोकको इन्द्रावती नगरपालिकाकी रिता भट्टराई र वीरगन्ज महानगरपालिकाका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
मेयर सिंहले रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नो छोरी बनाएर फर्जी जन्मदर्ताको आधारमा नागरिकता बनाएर लिखित सम्बन्धि कसूर गरेको आरोपमा दायर मुद्दामा पर्सा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको हो । जबकि मेयर सिंहले भट्टराई आफ्नो दोस्रो श्रीमति भएको दाबी गर्दै आएका छन् ।
सरकारी वकिलको कार्यालयका अनुसार वीरगन्ज–३ का लियाकत अलीले २०८० साल माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरुद्ध सरकारी कागजात किर्ते र नागरिकता किर्ते विषयमा उजुरी दिएका थिए । त्यहि उजरीका आधारमा मेयर सिंहविरूद्ध चार वटा मुद्दा परेकोमा पर्सा जिल्ला अदालतले लिखत सम्बन्धी कसुरमा पक्राउ पूर्जी जारी गरेको अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले मंगलबार बताएका थिए ।

