वीरगन्ज,१८जेष्ठ: वीरगन्जमा दृष्टि सम्बन्धि अपाङ्गता भएका व्याक्तिहरुको लागि ४५ दिने कम्प्युटर तालिम सुरु गरिएको छ। शुक्रबार वीरगन्ज -१५ मेडिकल चाेक स्थित समृद्ध समाजका लागि युवा सशक्तिकरणको आफ्नै भवनमा उक्त तालिमको उदघाटन गरिएकाे हाे।
लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र त्रिपुरेश्वर काठमाडौं र समृद्ध समाजका लागि युवा सशक्तिकरणको संयुक्त आयोजनामा दृष्टि सम्बन्धि अपाङ्गता भएका व्याक्तिहरुको लागि सञ्चालित ४५ दिने कम्प्युटर तालिमको उद्घाटन नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शहनबाज अन्सारीले गरे । तालिमको उद्घाटन गर्दै उनले अपाङ्गता तथा दृष्टिविहीन भएका व्याक्तिहरुले पनि प्राविधिक सिप सिकेर आत्मनिर्भर बन्न सक्ने बताएरे ।
तालिमबाट २६ जना दृष्टिबिहीन सहभागी छन् । तालिममा उपकार नेपाल, सानो पाइला, हिन्दू परिषद् नेपाल , नेपाल तरकारी तथा फलफूल थोक व्यवसायी संघ, नमस्ते नेपाल इन्टरटेन्मेन्ट, राष्ट्र सेविका नेपाल लगायतका संस्थाहरुकोपनि सहयोग रहेको छ।
तालिमले दृष्टिबिहीन विद्यार्थिहरूलाई प्रविधिसँग जोड्ने र उनीहरूलाई रोजगारी र दैनिक क्रियाकलापमा समेत सहजता हुने कार्यक्रम संयोजक एवं संस्थाका उपाध्यक्ष महेश साहले बताए ।
शिवेन्द्र यादवकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा बानका मधेश प्रदेशका अध्यक्ष आंशिक अन्सारी , श्रीराम हस्पिटलकी स्त्री तथा प्रस्तुति रोग विषेशज्ञ डा. दिप्ती यादव लगायतकोपनि उपस्थिति रहेको थियो।

