काठमाडौं,२१मंसिरः अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा अन्र्तराष्टिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा पाँचजना पूर्वमन्त्रीसहित ५५ जना जनाविरुद्ध आरोप पत्र दायर गरेको छ।
आयोगले पाँचजना पूर्वमन्त्री,१० पूर्वसचिवसहित ५५ जनालाई प्रतिवादी बनाएर आइतबार विशेष अदालतमा मुद्दा दायर भएको अख्तियार स्रोतले जनाएको छ। उनीहरूविरुद्ध ८ अर्ब रुपैयाँ विगो माग गरिएको छ।
अख्तियारले पूर्वमन्त्रीहरू पोस्टबहादुर बोगटी,डा. रामशरण महत,दीपक अमात्य,रामकुमार श्रेष्ठ र भीम आचार्यसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।
सर्वोच्च अदालतका पूर्वरजिष्ट्रारसमेत रहेका विमानस्थल निर्माणसम्बन्धी अध्ययन कार्यदलका तत्कालीन संयोजक रामकृष्ण तिमल्सेना,सुरेशमान श्रेष्ठ,मधुकुमार मरासिनीलगायत १० जना पूर्वसचिवलाई समेत प्रतिवादी बनाइएको अख्तियार स्रोतले जनाएको छ।
पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दै आएको थियो।
विमानस्थलमा भएको अनियमिततासम्बन्धी प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले २०८२ वैशाखमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो।
उपसमितिले विमानस्थल निर्माणमा करिब १० अर्ब भ्रष्टाचार भएको दावीसहित प्रतिवेदन समितिलाई बुझाएको थियो। त्यसपछि समितिले थप अनुसन्धान गर्न अख्तियारलाई पत्र पठाएको थियो।साभारः अन्नपूर्णपोष्ट

