वीरगन्ज,२०मंसिरःथारु कल्याणकारी सभा पर्साको नवौं साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ ।पर्साको सखुवा प्रसौनी गाँउपालिकाको औराहा पचगावामा शनिबार ’संगठन एकताको लागि, एकता समुदाय विकासको लागि’ भन्ने मूल नाराका साथ ःथारु कल्याणकारी सभा पर्साको नवौं साधारण सभा सम्पन्न भएको हो ।
साधरण सभाको उद्घाटन गर्दै थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य महेन्द्र चौधरी थारुले थारु समुदायको हकअधिकार सुनिश्चित गर्न संगठनलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘ हाम्रो समुदायको विकास र पहिचानको लडाईंमा एकता नै सबैभन्दा ठूलो शक्ति हो। शिक्षा र राजनीतिक चेतना मार्फत हामी अघि बढ्नुपर्छ ।’
यस्तै पूर्व सांसद जयप्रकाश थारुले थारु समुदाय राज्यको मूलधारबाट अझै पनि पछाडि परेको उल्लेख गरे । उनले भने,‘आर्थिक र सामाजिक रूपान्तरणका लागि हामीले हाम्रा बालबालिकाको शिक्षामा विशेष जोड दिनुपर्छ ।राजनीतिक रूपमा संगठित पनि हुनुपर्छ ।’
थारु कल्याणकारी सभा पर्साका अध्यक्ष भागवत चौधरी थारुले संस्थाले पारदर्शी रूपमा काम गरिरहेको बताउँदै आगामी दिनमा धर्मशाला निर्माण र समुदायको हितका लागि अझ सशक्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बासुदेव महतो थारु,थारु कल्याणकारी सभा पर्साकी महला सदस्य एवं पर्सागढी नगरपालिकाकी पूर्व उपमेयर अर्चना चौधरी थारु, थारु कल्याणकारी सभा पर्साका उपाध्यक्ष मोहन चौधरी थारु, ठाकुरराम बुहुमुखी क्याम्पसका प्राध्यापक कृपा सिन्धु चौधरी लगायतकाकोपनि उपस्थिति रहेको थियो।
संस्थाका सचिव मनोज महतो थारुले सहजीकरण गरेको कार्यक्रमको आयोजनामा दिपनरायण आदर्श नमुना मावि औराहा पचगावाका प्रधानाध्यायक शिवनाथ चौधरी थारुको विशेष योगदान गरेको स्थानीय सञ्चारकर्मी रामकिशोर चौधरीले जानकारी दिए ।

