जनकपुर,१८मंसिर:मधेस प्रदेशमा सात राजनीतिक दलले छलफल पछि नयाँ मुख्यमन्त्रीका नाममा सहमति जुटाएका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शुक्रबार साँझ ५ बजेसम्म नयाँ सरकार गठनका लागि समय दिएकोमा प्रदेश सभा सचिवालयमा बिहीबार करिब ७ घण्टा सम्म बसेको ७ दलको बैठकले नयाँ मुख्यमन्त्रीबारे अन्तिम टुङ्गो लगाएको हो।
जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोज यादवका अनुसार दलहरूबीच सहमतिमा आधारित नाम तय भइसकेको छ र यसको औपचारिक घोषणा भोलि गरिनेछ। उनका अनुसार भोलि(शुक्रबार) दिउँसो २ बजे सातै दलले संयुक्तरूपमा प्रदेश प्रमुख समक्ष सरकार गठनका लागि दाबी पेश गर्ने तयारी गरेका छन्।
सात दलबीच कुनै विवाद नरहेको र सहमतिमै नयाँ नेतृत्व चयन गरिएको बैठकपछि यादवले जानकारी दिए।
७ दलमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपाल, नेकपा एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेको छ।
मुख्यमन्त्रीको दावेदारको रुपमा लोसपाका प्रदेशसभा सदस्य एवं पूर्व मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार(सोनल) र कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश सभामा विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव पेश गर्ने क्रममा सम्बोधन गर्दै विश्वासको मत पाउने अवस्था नदेखेपछि राजीनामा दिएका थिए।
उनको राजीनामा पछि सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि शुक्रबार ५ बजेसम्मका लागि आह्वान गरेका हुन्।साभार:नागरिक

