काठमाडौं,२१चैत: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ।बिहीबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको राप्रपाको प्रतिनिधिमण्डलले सिंहदरबारमा कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण पत्र बुझाउँदै उक्त घटनाको छानविन गर्नुपर्ने भन्दै गृहमन्त्री र लेखकको राजीनामा माग गरेको हो ।
गृहमन्त्री लेखकको राजीनामा र चैत १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन गर्नुपर्ने राप्रपाको माग छ। त्यस्तै मृतकहरूलाई शहीद घोषणा गरिनुपर्ने, राप्रपा नेताहरू रबीन्द्र मिश्र र डा. धवल शमशेर राणालगायत अन्य बन्दीहररूको रिहाई गर्नुपर्ने तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गरिनुपर्ने राप्रपाको माग छ। साथै उक्त घटनाको छानविनका लागि सर्वोच्च अदालतको पूर्वन्यायाधीशको नेतृत्वमा मानव अधिकार आयोग र नागरिक समाज सम्मिलित स्वतन्त्र छानविन आयोग गठन गरिनुपर्ने राप्रपाको माग छ।
आफ्ना मागहरूका विषयमा सुनुवाई नगरी सरकार एकपक्षीय ढंगले अघि बढे आगामी कार्यक्रमलाई दमनको विरुद्धको कार्यक्रममा परिणत गर्ने राप्रपाले चेतावनी समेत दिएको छ।साभार:अन्नपूर्णपाेष्ट

