काठमाडौं,१५मंसिरःनेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले पुस अन्तिम साता पार्टीको १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ। सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रिय कार्य समितिको बैठकले पुस २६ देखि २८ गतेसम्म १५ औंं महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
केन्द्रीय कार्यसमितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिकापनि सर्वसम्मत पारित गरेको उनले बताए ।
त्यस्तै बैठकले नयाँ क्रियाशील सदस्य वितरण गर्ने सीमा मंसिर २० गतेसम्मलाई तोकिएको उनले बताए। मंसिर २४ गतेभित्र वडासम्म फारम वितरण गरिसक्नुपर्ने र पुस ८ गतेभित्र नयाँ क्रियाशील सदस्यको काम सकाइसक्नुपर्ने निर्णय भएको प्रवक्ता महतले बताए।
त्यसमा उजुरी आह्वान गर्ने र उजुरीमाथि छानबिन गरेर नयाँसहितको अन्तिम सूची सभापतिलाई पुस १४ गते बुझाइने निर्णय भएको छ। नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशीता, नयाँ पुस्ता, अन्य पार्टीबाट आएका नेता-कार्यकर्ताहरूलाई वितरण गरिने उनले बताए।
त्यस्तै गाउँ, नगर र वडा अधिवेशन पुस १६ गते, गाउँ, नगर र पालिका पुस १७ गते, प्रदेश सभा क्षेत्री अधिवेशन पुस १९ गते, एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा पुस २२ गते, एकभन्दा बढी भएको जिल्लामा पुस २२ गते र प्रदेश अधिवेशन पुस २३ र २४ गते हुने प्रवक्ता महतले बताए।
त्यस्तै केन्द्रीय कार्यसमितिको बैठकले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्मलाई थप्ने निर्णय गरेको छ।
मंसिर २३ गते कार्यवअधि सकिने र पुस मसान्तमा महाधिवेशन गर्ने मिति तय भएकाले त्यसमा थप एक महिनाको अवधि राखेर म्याद थपिएको प्रवक्ता महतले बताए।

