वीरगन्ज,१४मंसिरःजिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमारी यादव ” सर्वोत्कृष्ट प्रहरी ” घोषित भएकी छिन् ।रौतहटको गरुडास्थित ईलाका प्रहरी कार्यालयमा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक यादव देशभरिमै ” सर्वोत्कृष्ट प्रहरी ” घोषित भएकी हुन् ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत काठमाडौंमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले यादवलाई ४० हजार राशीको नगद पुरस्कार र प्रशंसापत्रसहित पुरस्कृत गरेका हुन्।
नेपाल प्रहरीको विभागीय नीति निर्देशन र आदेको परिपालना गर्दै महिला,बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको जिम्मेवारीलाई पुर्ण व्यावसायिक तवरले सम्पादन गरि लैङ्गिक हिंसा न्यूनीकरण एंव लैङ्गिक उत्तरदायी प्रहरी सेवा प्रवाहमा उत्कृष्ट कार्य सम्पादन,उल्लेखनीय योगदान तथा प्रेरणादायी भुमिका निर्वाह गरेको भन्दै यादव “सर्वोत्कृष्ट प्रहरी ” घोषित भएकी हुन् ।
गत आर्थिक वर्ष २०८१/०८२ को लैंगिक हिंसाको तथ्यपत्र सार्वजनिकीकरण कार्यक्रमको अवसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरुमा कार्यरत प्रहरी कर्मचारी मध्ये कार्य सम्पादनको आधारमा उत्कृष्ट प्रहरी कर्मचारी छनौट समितिले यादवलाई उक्त पुरस्कारका लागि छनौट गरेको हो।
यसैगरी ३० हजार नगद सहित प्रहरी चौकी बालकोट अर्घाखाँचीमा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत शान्ता खत्री द्वितीय भएकी छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत रहेकी प्रहरी हवल्दार उमा तामाङ्ग २० हजार रुपैयाँ नगद तथा प्रशंसापत्र सहित तृतीय भएर सम्मानित भएकी छन्।
प्रहरी नायब निरिक्षक पूर्णिमा थापा तथा प्रहरी सहायक निरीक्षक साजना प्रसाईलाई नगद १० हजार सहित सान्त्वना पुरष्कार प्रदान गरिएको छ।

