वीरगन्ज,७मंसिरःवीरगन्ज महानगरपालिका वडा नम्बर २८ बगहीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा २४ घण्टे आकस्मिक स्वास्थ्य उपचार सेवा सुरु गरिएको छ । यसअघि कार्यालय समयमा मात्रै उपचार सेवा दिदैं आएको बगही प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबारदेखि भने आकस्मिक उपचार सेवा २४ सै घण्टाका लागि सञ्चालनमा ल्याइएको हो ।
आइतबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बगही प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर २४ घण्टे आकस्मिक स्वास्थ्य उपचार सेवाको औपचारिक रूपमा सुभारम्भ गरेका हुन् ।
त्यसअवसरमा बोल्दै मेयर सिंहले स्वास्थ्य क्षेत्रको विस्तार र स्तरोन्नत्ती महानगरपालिकाको मुख्य प्राथमिकतामा रहेको र त्यसै अनुसार काम भइरहेको बताए । बगही प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा अब २४ घण्टे आकस्मिक उपचार सेवा सञ्चालनमा आएपछि बगही र त्यस आसपासका हजारौँ नागरिकलाई आपतकालीन अवस्थामा उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता अन्त्य भएको उनले बताए।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, वडाध्यक्ष सर्युग महतो धानुक लगायतकाकोपनि उपस्थिती थियो ।

