Madhes Khabar
स्वास्थ्य

वीरगन्जमा परिवार नियोजनको अस्थायी साधन ‘सायना प्रेस’ सेवा सुरू

मधेसखबर
वीरगन्ज,१३पुस :वीरगन्ज महानगरपालिकाले परिवार नियोजनको अस्थायी साधन ‘सायना प्रेस’ सेवा सुरू गरेको छ ।

बुधबार गर्भ निरोधक नयाँ साधनको विषयमा जानकारी गराउन आयोजित कार्यक्रममा महानगरका मेयर राजेशमान सिंहले सेवा सुरु गराएका हुन् । उनले यो सेवा प्रभावकारी ढंगले सबैको पहुँचमा पुग्ने गरी लैजान स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे ।
स्वास्थ्य संस्थामा आएका सेवाग्राहीलाई सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्न निर्देशन दिँदै मेयर सिंहले हेलचेक्र्याइ गर्नेलाई कारबाही गरिने चेतावनी पनि दिए ।

महानगरभित्रका हरेक स्वास्थ्य चौकीमा ‘सायना प्रेस’ पुगिसकेको भन्दै सेवाग्राहीलाई सहजताका साथ यसको प्रयोग गराउन महानगरको स्वास्थ्य महाशाखा प्रमुख रितेश जयसवालले आग्रह गरे ।

महिलाले प्रयोग गर्ने ३ महिने गर्भ निरोधक अस्थायी साधन सायना प्रेस सेवा महानगरका सबै स्वास्थ्यचौकी र केन्द्रबाट प्रदान गरिने उनले बताए ।
सायना नामक सुई एक पटक लगाएपछि ३ महिनासम्म गर्भ रहनबाट रोक्ने छ ।
विश्वका अन्य देशमा सायना प्रेसलाई आफैंले लगाउन मिल्ने सुईका रुपमा प्रयोग गरिएको भए पनि नेपालमा भने सुई आफैं लगाउन अनुमति दिइएको छैन ।यसको प्रभावकारिता ९९ प्रतिशत रहेको समेत उनले बताए ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका ३२ वटै वडाका स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई ‘साइना प्रेस’ लगाउने बारेमा प्रशिक्षण दिइएको हो ।
गएको साउन महिनादेखि नै ‘साइना प्रेस’ सुरु गर्नु पर्ने भए पनि स्वास्थ्यकर्मीहरु प्रशिक्षित नहुँदा लागु गराउन सकिएको थिएन । स्वास्थ्य कार्यालयले प्रशिक्षण दिएसँगै बिहीबारबाट महानगरका ३२ वटै वडाका स्वास्थ्य चौकी र केन्द्रमा यो सेवा सुरु हुने महानगरको स्वास्थ्य महाशाखाकी इन्दिरा लोहनीले जानकारी दिइन् ।
‘स्वास्थ्यकर्मी प्रशिक्षित नहुँदा केही ढिला गरी यो सुरु भएको छ,’ उनले भनिन्, ‘अब बिहीबारदेखि ३२ वटै वडामा अस्थायी परिवार नियोजनको लागि आउने महिलाले यो सेवा लिन सक्नेछन् ।’

Related posts

वीरगन्जका मेयर सिंहको विशेष पहलमा नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी

MadhesKhabar

नारायणी अस्पतालमा आगलागी

MadhesKhabar

पर्साकाे पटेर्वा सुगाैलीमा सञ्चालनमा आयाे जिल्लाकै पहिलाे आधारभुत अस्पताल,देउवाले गरे उद्घाटन 

MadhesKhabar

Leave a Comment