वीरगन्ज,२मंसिरःनेपाली कांग्रेस मधेस प्रदेशका उप–सभापति एंव प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहले अब महाधिवेशन प्रक्रियामा ढिलाइ नगर्न पार्टी नेतृत्वसंग आग्रह गरेका छन्। उनले कांग्रेस अहिले अनुकूल परिस्थितिमा रहेको बताउँदै नेतृत्वले महाधिवेशनको कार्यतालिका जारी गरे एक महिनाभित्रै महाधिवेशन सम्पन्न गर्न सकिनेपनि बताएका छन्।
सञ्चारकर्मीहरुसंग सिंहले भने,कांग्रेस अहिले सरकारमा छैन, मौसम अनुकूल छ । कुनै बाह्य दबाब पनि छैन। यस्तो अवस्थामा महाधिवेशन लम्ब्याउने कुनै वैधानिक वा व्यवहारिक आधार छैन ।
उप–सभापति सिंहले नियमित महाधिवेशनको समयमै तयारी नभए विशेष महाधिवेशन बोलाउन मागसहितको प्रस्ताव दर्ता भइसकेको पनि स्मरण गराए। पार्टीको विधानले विशेष महाधिवेशनको प्रस्तावलाई रोक्ने अधिकार कसैलाई नदिएको उल्लेख गर्दै उनले भित्रभित्रै प्रक्रियालाई रोक्ने प्रयास भए त्यो कांग्रेसको आन्तरिक लोकतन्त्रविरुद्ध जाने चेतावनीपनि दिए।

