Madhes Khabar
राजनीति

बालेनले नयाँ पार्टी नबनाउने, चुनाव पनि नलड्ने

काठमाडौं,१७कात्तिकःकाठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नयाँ राजनीतिक दल गठन नगर्ने भएका छन्। “जेन–जी आन्दोलन” ले राजनीतिक तहमा ठूलो हलचल ल्याएपछि बालेन पनि सक्रिय राजनीतिमा आउने चर्चाका बीच उनले कुनै दलमा प्रवेश गर्ने अड्कल अन्त्य गरेका छन् ।

बालेनका नजिकका सहयोगीका अनुसार उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रतिस्पर्धा नगरी महानगरको मेयरका रूपमा आफ्नो कार्यकाल पूरा गर्ने निर्णय गरेका छन्। सहयोगीका अनुसार बालेनले “न त नयाँ पार्टी बनाउने, न त कुनै पुरानो दलमा सामेल हुने” छन् । तर उनले संविधानको दायराभित्र रही जेन–जी आन्दोलनको एजेन्डा बोकेका पार्टी वा उम्मेदवारलाई समर्थन गर्ने बताएका छन्।

जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि बालेनका केही सल्लाहकारहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहकार्य गर्ने सम्भावनाबारे छलफल गरेको बताइन्छ। त्यतिबेला रबि लामिछानेले बालेन वा कुलमान घिसिङलाई पार्टी नेतृत्वको जिम्मा दिन सक्ने तयारी गरेका थिए। तर पार्टीभित्रका नेताहरू सोबिता गौतम, डा.स्वर्णिम वाग्ले र दीपक बोहरालगायतले असहमति जनाएपछि विषय अघि बढ्न सकेको थिएन।

पछि घिसिङले पूर्वसांसद सुमना श्रेष्ठसँग मिलेर नयाँ दल गठन गर्ने तयारी थालेका थिए, जसमा बालेन पनि जोडिने हल्ला थियो। बालेनले यसबारेका सबै अफवाह अस्वीकार गर्दै भनेका छन्, “म अहिले कुनै पार्टीमा जाने वा नयाँ दल बनाउने तयारीमा छैन, बरु देश र संविधानको सम्मान गर्दै जेनजी आन्दोलनका एजेन्डा बोकेकालाई समर्थन गर्छु।”

संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखजस्ता विषयमा पनि बालेनको स्पष्ट धारणा रहेको उनका सहयोगीहरूले बताएका छन्। बालेन संविधानका सबै प्रावधानहरूको समर्थन गर्दै स्थानीय तहलाई अझ सशक्त बनाउने पक्षमा रहेका छन्। यदि संसद्ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणालीको पहल गरे, उनले त्यसलाई पनि समर्थन गर्ने अपेक्षा गरिएको छ।साभारःनागरिक

Related posts

राजा फर्काउने अभियानमा कमल थापा र राजेन्द्र लिङ्देन एकजुट

MadhesKhabar

वीरगन्जमा पनि कांग्रेसले मनायो ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’

MadhesKhabar

उच्चस्तरीय समिति नबनाए कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिनुपर्छ : प्रदीप पौडेल

MadhesKhabar

Leave a Comment