
वीरगन्ज,९कात्तिक : छठपूजामा सजावटका लागि नेपालमै प्रसिद्ध रहेको वीरगन्जको घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पुरा भएको छ।
छठपूजा व्यवस्थापन समितिले आइतबार साँझ पत्रकार सम्मेलन गरि यस बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा समितिका काेषाध्यक्ष कन्हैयालाल गुप्ताले छठघाटको व्यवस्थापन र सजावटको काम पुरा भएको जानकारी गराए ।
उनले यसपालि छठघाटको सजावट र व्यवस्थापनमा गरि करिब २३ लाख ८ हजार रुपैया खर्च हुने अनुमान गरिएको बताए । टेण्टपण्डाल सजावटमा ९ लाख , परिसर बाहिरको बत्ती सजावटमा ३ लाख , भिडियो ग्राफीमा ३० हजार , पुरस्कारमा ५ लाख ५० हजार , सरसफाइमा १ लाख ५ हजार रुपैया खर्च हुने समितिका काेषाध्यक्ष गुप्ताले जानकारी गराए ।
सुरक्षा उपसमतिका संयोजक मुन्ना साहका अनुसार , छठघाटमा ब्रतालु , दर्शनार्थी र भक्तजनहरुको सुरक्षा सहजताका लागि नेपाल प्रहरी , सशस्त्र प्रहरी र म्यादी प्रहरी गरि १ सय १० सुरक्षाकर्मी र घडीअर्वा स्पोर्ट क्लबका ६० जना स्वंयसेवक परिचालन गरिनेछ । यस्तै छठघाट परिसरमा २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको साहले जानकारी गराए । सादा पोशाकमा पनि प्रहरी परिचालन गरिने उनले बताए ।
गत वर्षकाे छठमा छठघाट सजावट र ब्यवस्थापनमा १९ लाख १४ हजार ८१२ रुपैयाँ खर्च भएकाे र आम्दानीबाट खर्च कटाएर २ लाख ९३ हजार २७२ रुपैयाँ बचतपनि भएकाे समितिका काेषाध्यक्ष गुप्ताले जानकारी गराए।
समितिका अध्यक्ष राकेस साहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पूर्व अध्यक्षहरु प्रमानन्द साह ,वाल्मीकि साह,हिरा साह ,प्रेम साह कानु , मदन प्रसाद कलवार , दिलिप साह कानु,वीरगन्ज १० का वडाअध्यक्ष सुशील साह कानु , पूर्व सचिव सन्ताेष गुप्ता,समितिका उपाध्यक्ष आत्माराम साह कानु , घडीअर्वा स्पोर्ट क्लबका अध्यक्ष सन्तोष कानु , मनाेहर साह, प्रभाकर गुप्ता,सल्लाहकार गौरीशंकर गुप्ता लगायतकोपनि सहभागीता थियो ।पत्रकार सम्मेलनकाे सहजिकरण प्रचारप्रसार उपसमितिका संयाेजक प्रणय साहले गरेका थिए।

