Madhes Khabar
अन्तरवार्ता हेडलाइन

आउँदो चुनाव पनि उपेन्द्र यादव लडेकै क्षेत्रबाट म पनि लड्छु : शीवचन्द्र कुशवाहा (अन्तरवार्ता)

बैशाख १० मा भएको उपनिर्वाचनमा बारा २ मा निर्वाचित जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शीवचन्द्र प्रसाद कुशवाहासंग चुनावी नतिाजा बारे क्रान्ति शाहले गरेको कुराकानी

उपनिर्वाचनमा भएको पराजयलाई कसरी लिनुभएको छ ?

चसनावमा जनताले दिएको जनादेशलाई मैले सहर्ष स्वीकारेको छ । यद्यपि कानूनी रुपमा चुनाव मैले हारेको भएपनि व्यवहारिक रुपमा भने मैले नै जितेको महसुस गरिरहेको छु । किनकि चुनावी मैदानमा म जनमत पार्टीको उम्मेदवार एक्लै थिए । तर मेरो विरुद्ध पाँच दलीय गठबन्धनसंगै संघीय , प्रदेश र स्थानीय गरि तीनै तहका सरकार समेत मिलेर लडेका थिए । तैपनि बारा २ का जनताले जुन मत मलाई दिएका छन् त्यो मतसंग पाँच दलीय गठबन्धनले पाएको मत पाँच भागमा विभाजन गरेर तुलाना गर्ने हो भने त मैले पाएको मत त अहिलेको जितेकाको भन्दा कयौं गुणा बढि हुन्छ । त्यसै कारणले यो मेरो हार होइन मेरो जिते हो भनेर सम्झेको छु ।

बारा २ मा सिके राउतको खटाइले मात्र यति धेरै मत जनमत पार्टीले पाएको हो भन्छन् नि ?

बारा २ मा मैले पाएको मत , हाम्रा पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउत अनि मेरो पनि प्रभावले पाएको मत हो । यो स्वभाविक हो । पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउत रातदिन खटिनु भयो । जनताको बिचमा गएर आफनो पार्टीका उम्मेदवार शीवचन्द्र कुशवहालाई भोट माग्नु भयो । हामी दुई जनासंगैसंगै पनि जनताको घरदैलोमा पुग्यौ , जनतासंग हर्न छापमा मत माग्यौ । जनताले जनमत पार्टीको चुनाव चिन्ह हर्न छापमै मत दिएको हो ।त्यसकारण यस्को उस्को कारण वा यस्को प्रभाव वा उस्को प्रभाव भनेर छुट्याउनु उचित हुदैन ।पार्टीको लोकप्रियताका साथै हामी दुवैको खटाई र प्रभावले जनमत पार्टीलाई यतिधेरै मत आएको हो ।

चुनावी प्रचारका क्रममा तपाईले त महागढीमाइ माताको आशीर्वाद ममाथि छ , फरकिलो मतान्तरले मैले नै जित्छु भनेर दावी गर्दै आउनु भएको थियो तर तपाइको दाबी अनुसार जित त सुनिश्चित भएन नि ?

म जित्नकै लागि चुनाव लडेको थिए । म मात्रै होइन चुनावमा कुनै पनि उम्मेदवार जित्नकै लागि लड्छ । मैले अघिपनि भनिसके , कांग्रेस , जसपा , माओवादी लगायतका पाँच दल मात्र होइन तीनै तहको सरकार प्रमुखहरु मिलेर मेरो विरुद्ध लाग्दा समेत उनिहरुका उम्मेदवार (जसपा अध्यक्ष उपेन्द्र यादव ) ले जुन मतान्तरले जितेका छन् , त्यो मतान्तरले नै भन्छ कि यो मेरो हार होइन यो मेरो जित हो । यो कुरा जनतामा गएर सोध्दा पनि हुन्छ । र अर्को कुरा आउदा चुनावहरु अहिलेका गठबन्धन दलहरुले फेरि पनि गठबन्धन नै गरेर लड्छन भन्ने ग्यारेन्टी छैन । एक्ला एक्लै लड्छन् होला । त्यसबेला म कुन स्थानमा रहन्छु अहिले पाएको मतले नै संकेत गरिरहेको छ । अहिले पाँच दलीय गठबन्धनले पाएको मतलाई पाँच भागमा बाँडेर हेर्दा थाहा भइहाल्छ नि एक्लै एक्लै लडेको भए कसले जितेको छ कसले हारेको छ ।

यत्ति नजिकको मतान्तरले पराजित हुनुप¥यो । यस्तो खालको मत आउनुमा उमेदवारको कमजोरी कि पार्टीको ?

चुनाव भनेको हारजितको खेल हो । एउटाले जित्छ अर्कोले हार्छ । चुनावको लडाइमा एक जनाले जित्छ अर्कोले हार्छ । चाहे थोरै मतले हारोस या धेरै मतले जितोस् । तर कटु सत्य के हो भने एउटाले जित्छ अर्कोले हार्छ नै । मलाई जुन मत आएको छ त्यसले के देखाइरहेको छ भने ,, यसमा कसैको कमजोरी होइन । जनताले मलाई २३ हजार ३३४ मत दिएको छ यदि उम्मेदवार वा पार्टीको कमजोरी भएको भए जनताले विश्वास गरेर त्यति धेरै मत दिदैनथ्यो । त्यसका कारण उम्मेदवार वा पार्टी कसैको कमजोरी होइन । यो प्रश्न सोध्नु नै गलत हो । प्रश्न नै परिपक्व भएन । यदि कमजोरी भएको भए जनताले त्यतिधेरै मत पक्कै दिने थिएन ।

पुराना दलहरुप्रतिको वितृष्णाले पनि मत बढेको हो जस्तो लाग्दैन ?

पहिलो कुरा जनमत पार्टीको एजेण्डा नै जनामुखी छ । जनमत पार्टीले लिएको मुद्धा जनताको हितमा छ । त्यस कारण जनमत पार्टीलाई जनताले अहिले मन पराइरहेका छन् । पाँच दल र तीनै तहका सरकारका प्रमुखहरु आफना एकल उम्मेदवारलाई जिताउन र मलाई हराउन घरमा घरमा धाएर भोट मागे । बहालवाला र पुर्व गरि तीन जना प्रधानमन्त्री समेत आएर मलाई हराउन सारा शक्ति लगाए । मधेसका मुख्यमन्त्री त मतदानका दिन समेत बुथ बुथमा गएर आफना उम्मेदवारका लागि भोट मागे ।मतदानको अघिल्लोदिन राति पैसाको बिटो समेत उनिहरुले बाँडे । मतदानका दिन ठाँउ ठाँउमा बुथ कब्जा पनि गरे ।सिङगो राज्य र सरकार प्रमुखहरुले समेतले सारा शक्ति लगाउदा पनि मैले त्यति धेरै मत पाए , थोरै मतले मात्रै मैले हार्नु परयो । यसले नै पुष्टि गर्छ कि यति धेरै मत जनताले जनमत पार्टीलाई औधी मन पराएर दिएका हुन् , जनतामा जनमत पार्टीको लोकप्रियता बढ्दो छ । रहयो पुरानो भनिएका दलहरुको कुरा । उनीहरुले अहिलेसम्म जनताका लागि के गरे ? आफनो स्वार्थका लागि के गरे ? त्यसको समिक्षा जनताले गर्न सुरु गरिसकेका छन् । अहिलेको चुनावमा पनि जनताले ती दलहरुको समिक्षा गरेर नै मत दिएका हुन् । यद्यपि अंकगणितीय हिसाबले मैले हारे पनि जनताले जनमत पार्टीमाथि भरोसा गरेर दिएको मतले मैले जितेको छु भनेर बारा २ का जनताले नै भनिरहेका छन् ।

अब आउने निर्वाचनमा दलहरुको भविष्य कस्तो होला ?

आफुलाई ठूला भन्ने दलहरुको अब भविष्य नै छैन भनेपनि हुन्छ ।पाँच दलले गठबन्धन गरेर लड्दा त यति धेरै शक्ति लगाउनु परयो उनिहरुलाई ।बारा २ मा जितेपनि पाँच दलका स्थानीयदेखि शीर्ष नेताहरु खुशी छैनन् , उनीहरुको अनुहार अध्याँरै छ , अनुहारमा थोरै पनि हाँसो देखिएको छैन । बारा २ मा पाँच दल मिलेर लड्दा त जित निकाल्न यति सकस भयो भने अब एक्लै लड्दा त झन के हविगत हुने हो भन्ने भयले अहिलेदेखि नै उनीहरुलाई सताउन सुरु गरिसकेको छ । बारा २ मात्र होइन् उपनिर्वाचन भएको चितवन २ र तनहुँ २ को निर्वाचन परिणामले पनि ती दलहरुको मुटुमा ढ्याङग्रो ठोकिसकेको छ । ती दलहरुमा पहिरो जान सुरु पनि भइसकेको छ ।अर्को कुरा सधैभरि चुनावमा गठबन्धन नै भइहाल्छ भन्ने ग्यारेण्टी त हुदैन । अब हुने चुनावमा एक्ला एक्लै लड्नु पर्छ , त्यो बेला हाम्रो हविगत के हुन्छ भन्ने डरत्रासमा उनिहरु अहिलेदेखि नै छन् ।

गठबन्धनको उमेरदवारले जित्नुभएको छ, अब उहाँलाई तपाईंको कस्तो सहयोग रहनेछ ?

पहिलो कुरा त अब साढे ४ वर्षपछि हुने निर्वाचनमा उपेन्द्र यादवले जुन क्षेत्रबाट चुनाव लड्छन् म पनि त्यहि क्षेत्रबाट लड्छु यो घोषणा अहिले नै गरे मैले । उप्न्द्र जी लडेकै क्षेत्रबाट चुनाव लडेर त्यहिबाट मैले उपेन्द्र जीलाई पराजित गरेरै छाड्छु ।किनकि यसपालि बारा २ मा जनताले उपेन्द्र जी र मलाई दिएको मतले मत निक्कै उत्साहित छु ।रहयो कुरा अहिले बारा २ बाट निर्वाचित उपेन्द्र जीलाई सहयोग गर्ने सवालमा भने म के भन्न चाहन्छु भने म जनताको सेवक हुँ , हारेपनि जितेपनि म जनताको सेवामै समर्पित रहन्छु । यस क्षेत्रका जनताको विश्वास र भरोसा सधै ममाथि छ । त्यसलाई म आगामी दिनमा टुट्न दिने छैन । क्षेत्रको विकास र समृद्धि अनि जनताको सेवामा मेरो सकरात्मक भूमीका सधै रहन्छ । उपेन्द्र जीले यो क्षेत्र र यहाँको जनताको लागि राम्रो काम गरे भने मेरो सकरात्मक भुमीका रहनेछ यदि गलत काम गरे , जनविरोधी काम गरे भने त्यसको भण्डाफोर गर्न म पछाडि हट्दीन ।

आफ्नो पार्टीलाई अझै बलियो बनाउँदै लैजान तपाईंको भूमिका कस्तो हुनेछ ?

साच्चै भन्ने हो भने उपनिर्वाचन हुदाँ सम्म बारा २ मात्र जनमत पार्टीको संगठन विस्तार भइसकेको थिएन । तर अब बारा २ मा मात्र नभइ समग्र बारा जिल्लाभरमै जनमत पार्टीको संगठन विस्तारमा हामी लाग्छौ । वडा वडा तहमा हामी जनमत पार्टीको संगठन बनाउछौं । किनकि मंसिर ४ को निर्वाचनमा मधेसमा जनमत पार्टी प्रति देखिएको जनउभारले अबका दिनमा मधेसमा जनताले विकल्प खोजीरहेको प्रष्टै देखिन्छ । त्यसकारण बारामा मात्र नभइ मधेसमै जनमत पार्टीलाई १ नम्बरको पार्टी बनाउनका लागि हामी अहोरात्र खट्छौ ।

Related posts

बारामा एकै दिन ४० हजार लिटर घरेलु रक्सीकाे कच्चा पदार्थ नष्ट

MadhesKhabar

वडाध्यक्ष कुट्ने प्रहरीलाई कारबाहीकाे माग गर्दै वीरगन्ज महानगरका जनप्रतिनिधिहरुद्वारा आन्दोलनको घाेषणा

MadhesKhabar

वीरगन्जको हाम्रो सहारा सहकारीका सञ्चालक र कर्मचारी फरार

MadhesKhabar

Leave a Comment