Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

छठमा पनि घटेन सिर्सिया नदीको प्रदूषण: स्थानीयबासी आक्राेशित

काठमाडौं,८कात्तिक:छठ पर्वमा सेमत वीरगन्जस्थित सिर्सिया नदीको प्रदुषण नघटेपछि स्थानीय आक्रोशित भएका छन् । ब्रतालुको धार्मिक आस्थासँग खेलवाड गर्ने गरी पर्सा–बारा औद्योगिक करिडोरका उद्योगले खोलालाई प्रदुषित गरिरहेकाले स्थानीयमा आक्रोश बढेको हो ।

 

सिर्सिया नदी एवम् वीरगन्ज प्रदुषणमुक्त अभियानका सचिव वृजेश्वरप्रसाद चौधरीले पर्सा–बारा औद्योगिक करिडोरका उद्योगले स्थानीयको धार्मिक आस्था माथिनै प्रहार गर्ने गरी अटेर गरिरहेको आरोप लगाए । ‘अघिल्ला वर्षमा छठ नजिकिँदै गर्दा करिडोरका उद्योगले साता दिन अघिदेखिनै खोलामा आफ्ना उद्योगबाट निस्कने अवशेष फाल्न बन्द गर्थे,’ उनले भने, ‘तर यस वर्ष हदै भयो ।’

सामाजिक अभियन्ता प्रकाश थारुका अनुसार, सिर्सिया नदीमा पर्सा र बारामा गरी डेढ दर्जन बढी स्थानमा छठ घाट निर्माण हुने गरेको छ । .ती घाटमा ठूलो संख्यामा ब्रतालु तथा श्रद्धालुको आगमन हुने गरेको उनले बताए । यसरी ब्रतालुहरु आफै खोलामा उभिएर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । ब्रतालुलाई समेत सास्ती हुने गरी नदी प्रदुषित हुन दिनु अक्षम्य अपराध रहेको उनले बताए ।

तीन दशकयता अत्यधिक प्रदुषित बनेको सिर्सिया नदीमा अहिले कालो पानी बग्छ । खोलाको पानी मानवीय तथा चौपायाको उपयोगमा आउने लायक पनि छैन । खोलाको पानीबाट सिँचाइ पनि गर्न सकिदैन । खोलामा पूजाआजा र दाहसंस्कार गर्न समेत अप्ठेरो भएको छ । बाराको सिमरास्थित रामवनबाट निस्केको नदी करिब ३ किलोमिटर बगेपछि प्रदुषित बन्न थाल्छ । वीरगन्ज पुग्दा नदीको पानी पूर्णरुपले कालो भइसक्छ ।

वीरगन्जस्थित रानीघाट छठ पूजा व्यवस्थापन समिति अध्यक्ष रन्जनकुमार सिंह लाखौं स्थानीयको धार्मिक आस्थासँग खेलवाड गरिनु दुःखद रहेको बताउँछन् ।नदीको प्रदूषणकै कारण यस वर्षको चैते छठमा खोला किनारमा दुई वटा कृतिम पोखरी निर्माण गरी ब्रतालुलाई धार्मिक विधि पूरा गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

वर्षेनि छठको समयमा सिर्सिया नदी प्रदूषणको मुद्दा उठाउनु भन्दा प्रशासन तथा स्थानीय सरकारले हिम्मत गरेर खोला प्रदूषणमा जिम्मेवार उद्योगीलाई कडा कारवाही गरे यो समस्या सदाको लागि अन्त्य हुने उनको बुझाई छ । डेढ दशकअघि सिर्सिया खोलाको प्रदुषणको स्रोत पत्ता लगाउन गठित सिर्सिया नदी अनुगमन समितिले आफ्नो प्रतिवेदन तत्कालीन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई बुझाउँदै ४८ वटा स्रोत किटान गरेको थियो । ती स्रोतमध्ये पर्सा बारा औद्योगिक करिडोरका ४६ उद्योग, बाँकी दुईमा वीरगन्ज महानगरपालिकाको कार्यालयले खोलामा फाल्ने गरेको फोहर र वीरगन्ज महानगर क्षेत्रमा संचालित अवैध मदिरा भठ्ठीलाई किटान गरिएको थियो ।

सिर्सिया नदीमा नेपालमा मात्र नभई भारतमा पनि छठ पर्व मान्नेको संख्या बाक्लो छ । नेपाल हुँदै भारत प्रवेश जगर्ने यो नदीमा प्रदुषणका कारण भारतको रक्सौल र आसपासका बासिन्दालाई समेत समस्या हुँदै आएको छ ।शंकर आचार्य/कान्तिपुर

Related posts

भारतबाट लागू औषधको कारोबार गर्ने गिरोह वीरगन्जमा पक्राउ, ७६१७० पिस ट्रामाडोलपनि बरामद

MadhesKhabar

पटेर्वा सुगौली गाँउपालिका आँफैले तरकारीको बेर्ना उत्पादन गरेर किसानलाई बाँड्दै

MadhesKhabar

वीरगञ्ज महानगरको आयोजनामा योग शिविर संचालन

MadhesKhabar

Leave a Comment