वीरगन्ज,२३असोजःपर्साको पटेर्वा सुगौली गाँउपालिकाले तरकारीको बेर्ना आँफैले तयार पारेर किसानहरुलाई वितरण गर्न सुरु गरेको छ ।
टनेलसहितको नर्सरीमा तयार पारिएका ततरकारी बेर्ना मंगलबारदेखि किसानहरुलाई वितरण गर्न थालिएको गाँउपालिका अध्यक्ष दिनेश चौधरीले बताए । मंगलबार र बुधबार गरी दुई दिनमा २ सय ५० बढी किसानलाई तरकारीको बेर्ना वितरण गरिएको जानकारी उनले दिए ।
तरकारी नर्सरी व्यवस्थापन कार्यक्रम अन्तर्गत गाँउपालिका आँफैले वडा नम्बर ४ दखिनवारी सुगौली टोलमा करिब साढे दुई कठ्ठा जग्गामा तरकारीको बेर्ना उत्पादनका लागि टनेलसहितको नर्सरी बनाएको छ । उक्त नर्सरीमा काउली,गोलभेंडा,भेन्टा, हरियो खुर्सानी लगायतका तरकारीको बेर्ना उत्पादन गरिएको गाँउपालिकाकोे कृषि विकास शाखाकी प्रमुख सिमा चौधरीले जानकारी दिइन् ।
यसअघिका वर्षमा हरियो तरकारी बीउ प्याकेट बनाएर वितरण गर्दा त्यतिधेरै प्रभावकारी नभएपछि यस वर्षदेखि गाँउपालिका आँफैले टनेलसहितको नर्सरी निर्माण गरेर तरकारीको बेर्ना तयार पारेर किसानलाई वितरण गर्न थालिएको चौधरीले बतााइन् ।
पालिकाका किसानलाई व्यवसायिक रुपमै तरकारी खेतीतर्फ आकर्षित र प्रोत्साहित गर्नका लागि बेर्ना वितरण कार्यक्रम सुरु गरिएको गाँउपालिका अध्यक्ष चौधरीले बताए । उनले भने,‘बजारमा हरियो तरकारीको माग राम्रो छ । तरकारी खेतीबाट किसानले आम्दानीपनि राम्रै गर्न सक्छन् ।त्यसैले तरकारी खेती तर्फ उनिहरुलाई आकर्षित र प्रोत्साहित गर्न पालिका आँफैले बेर्ना तयार पारेर वितरण गर्न थालेको हो ।
अबयसपछि आगामी माघमा फेरि हिउँदे अन्य तरकारीको बेर्ना उत्पादन गरेर किसानलाई वितरण गर्ने योजना र त्यसका लागि कामपनि थालिसकेको उनले बतााए ।

