वीरगन्ज,२५असाेज:हैजाकाे संक्रमण देखिएको डेढ महिनापछि वीरगन्ज महानगरपालिकासहित पर्साका १४ वटै पालिकामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुदैंछ ।
स्वास्थ्य कार्यालय पर्साले हैजा रोगको महामारीविरुद्ध प्रतिकार्य खोप अभियानबारे जानकारी दिन आयोजना गरेकाे जिल्लास्तरीय सरोकारवालाको अभिमुखीकरण कार्यक्रममा आइतबारदेखि खोप अभियान सुरु गर्न लागिएको जानकारी दिइको हो ।
विश्व स्वास्थ्य संगठन नेपालका चिकित्सक डा. पवन उपाध्यायले विश्व स्वास्थ्य संगठनले स्वास्थ्य कार्यालयको समन्वयमा यो अभियान सञेचालन गर्न लागेको बताए ।
आइतबारदेखि कात्तिक २ गतेसम्म पर्सामा १४ वटै पालिकामा एकैसाथ हैजाविरुद्धकाे खाेप अभियान सञ्चालन गरिँदैछ । साथै पर्सासँग जोडिएको बाराका कलैया र जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र बिश्रामपुर गाउँपालिका गरी ६ वटा पालिमा पनि खाेप अभियान सञ्चालन गर्न लागिएको उपाध्यायले बताए ।
उनले १ वर्षदेखि माथि उमेरका सबैले यो खोप लिन सक्ने बताए । मुखबाट सेवन गरेर लिन सकिने यो खोप १ वर्षसम्म ८० प्रतिशतसम्म प्रभावकारी हुने उनले दाबी गरे ।
स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा औपचारिक रुपमा प्रमुख जिल्ला अधिकारीसहित उच्च पदस्थ सरकारी अधिकारीहरुसमेत गरी करिब २ सय ५० जनाले यो खोप लिएर खाेप अभियानकाे उद्घाटन गर्ने बताए । खोप अभियानमा पर्सा जिल्लामा ६ लाख ५२ हजार १ सय २९ जनालाई यो खोप दिने लक्ष्य रहेको उनले बताए ।
तोकिएका केन्द्रहरु र घरभेट कार्यक्रमबाट पनि यो खोप लिने सकिने बताउँदै ठाकुरले यो खोप सुरक्षित रहेको पनि दाबी गरे । भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई, अदालत आदि सरकारी कार्यालयमा आउने सेवा ग्राही, बसपार्कमा भेटिने यात्रुहरुलाई पनि यो खोप दिने लक्ष्य रहेको उनले बताए ।
ठाकुरले गत भदौ ५ देखि वीरगन्जमा हैजा संक्रमण देखिएकोमा वीरगन्जका विभिन्न अस्पतालमा गरी १ हजार ५ सय ६७ जना झाडापखाला र हैजाका बिरामी उपचारार्थ आएकोमा ती मध्ये २ सय २७ जनामा हैजा संक्रमण पुष्टि भएको बताए । यसबाहेक पोखरिया नगरपालिकामा पनि १८ जनामा हैजा संक्रमण पुष्टि भएको उनले बताए ।
हालसम्म गरिएका परीक्षणहरुबाट वीरगन्जका विभिन्न स्थानबाट संकलन गरिएको पानीमा हैजाको जीवाणु फेला नपरेको उनले बताए ।