Madhes Khabar
स्वास्थ्य

कफ सिरपका कारण कतिपय देशमा जस्तै जोखिमका घटना नेपालमा हुन नदिन सरकारले के गर्दैछ ?

माधुरी महतो
वीरगन्ज,२६असोजःभारतमा खोकीको औषधि अर्थात् कफ सिरपको सेवनबाट अढाई वर्ष मुनिका झन्डै दुई दर्जन बालबालिकाको मृत्यु भएको घटनापछि नेपालमा पनि सतर्कता अपनाउन आवश्यक रहेको डाक्टरहरू बताउँछन्।

तीन वर्ष पहिले पनि सन् २०२२ मा भारतको औषधि नियामकले मेइडन फर्मास्यूटिकल्सले उत्पादन गरेका कफ सिरप दूषित रहेको भन्दै प्रयोगमा प्रतिबन्ध लगाएको थियो।

उक्त कम्पनीको कफ सिरप उज्बेकिस्तानमा १९ र द गाम्बियामा ७० जना बालबालिकाको मृत्युसँग सम्बन्धित रहेको बताइएको थियो।

खासगरी सीमा नाका र भारततर्फ ओहोरदोहोर गर्न सहज भएको नेपालका विभिन्न स्थानबाट खोकीका औषधि सहजै उपलब्ध हुने भएपछि जोखिम देखिएको डाक्टर उदयनारायण सिंहले बताए।उनी भन्छन्, “मात्राभन्दा बढी सामग्री औषधिमा प्रयोग भएको अवस्थामा बालबालिका लगायत जो कोहीलाई पनि असर गर्न सक्छ।“

डाक्टर सिंहले कप सिरप बनाउने कम्पनीहरूले औषधीमा तत्त्वको मात्रामा ध्यान दिन आवश्यक रहेको बताए।रुघाखोकी लाग्ने बित्तिकै परामर्शविना यहीँको फार्मेसीबाट वा भारतीय सीमावर्ती सहरबाट खरिद गरेर औषधी खाइहाल्ने बानीमा सुधार ल्याउनुपर्ने अन्यथा स्वास्थ्यमा अझ जटिलता उत्पन्न हुन सक्ने उनी बताउँछन्।

नेपालमा कस्तो सावधानी अपनाइँदै छ ?
खोकी लाग्ने बित्तिकै सिरप किनेर आफूखुशी खाने चलन रहेको बताउँदै अर्का डाक्टर अनुपम उपाध्यायले खोकी विभिन्न कारणले लाग्ने हुँदा सिरपले नै निको हुन्छ भन्ने मान्यता मस्तिष्कबाट हटाउनुपर्ने बताउँछन् ।उनले सामान्य खोकी लागेको बेला कफ सिरपको सट्टा घरेलु उपाय गर्नुपर्ने बताए।

तर कुनै खोकी लाग्दा घरायसी उपाय उपयुक्त नहुने हुँदा चिकित्सकको सल्लाह लिएर मात्रै औषधि सेवन गर्न उनको सुझाव छ।

औषधि उत्पादकहरूको छाता सङ्गठन औषधी उत्पादक सङ्घका कोषाध्यक्ष सुमित चन्द्र श्रेष्ठले तीन वर्ष पहिले पनि भारतमा उत्पादित खोकीको औषधि अर्थात् सिरप सेवन गर्दा विदेशमा बालबालिकाको ज्यान गएको घटनापछि करिब २ वर्षदेखि सावधानी अपनाउन थालिएको जानकारी दिए।

उनले नेपालको कफ सिरप उत्पादन गर्ने ३० वटा कम्पनीहरू रहेको तथा भारतबाट आयात हुने औषधि समेतलाई पूर्ण परीक्षण गर्ने गरिएको दाबी गरे।

उनले विगतमा भारत, बंगलादेश र अफ्रिकामा कफ सिरपका कारण बालबालिकाको मृत्यु भएको घटना स्मरण गर्दै नेपालमा यस्ता घटना हुन नदिन कडा मापदण्ड अपनाइएको बताए।

औषधि व्यवस्था विभागले औषधिको सुरक्षित प्रयोगबारे सूचना सार्वजनिक गर्दै आम नागरिक, स्वास्थ्यकर्मी र औषधि व्यवसायीलाई सावधानी अपनाउन आग्रह गरेको छ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले पहिला पनि भारतमा यस्तो घटना हुँदा नेपालमा चर्चा हुने गरेको र विभागले तीन तवरले योजना बनाएर अगाडि बढेको बताएका छन्।

उनले सरकारी निकायदेखि सर्वसाधारण , चिकित्सक , औषधि पसल लगायत सबै सम्बन्धितलाई पालना गर्नुपर्ने आवश्यक निर्देशन सहितको सूचना जारी गरिएको र सोही अनुसारको कडाइ पनि गरिएको बताए।

नेपालमा भने डाइएथलिन ग्लाइकोल प्रयोग गरेर औषधि बनाउने काम नगरिएको औषधि व्यवस्था विभागको दाबी छ।उक्त रसायनहरूले मानिसको मिर्गौला र स्नायु प्रणालीमा क्षति पु¥याउने तथा स्वास्थ्यमा गम्भीर असर पु¥याउने भएकाले उक्त रसायनको प्रयोग नै नगरिएको बताइएको छ।

महानिर्देशक ढकालका अनुसार नेपालमा आयात हुने उल्लेखित कच्चा पदार्थ मिश्रित झोल बनावटको औषधिको प्रत्येक ब्याचको इथिलिन ग्लाइकोल वा डाइथिलिन ग्लाइकोलयुक्त मिसावट नभएको सुनिश्चित गरेपश्चात् मात्रै आयात तथा बिक्री वितरण गर्नुपर्ने नियम कडाइका साथ लागु गरिएको छ।

त्यस्तै उनले नेपालमा उत्पादित कफ सिरप वा अन्य तरल औषधिमा यी विषाक्त रसायनहरूको प्रयोग निषेधित रहेको र कुनै पनि ब्याचमा यस्तो सामग्री मिसिएको प्रमाणित भए तुरुन्तै विभागलाई जानकारी दिनुपर्ने गरी निर्देशन दिइएको जानकारी दिए।

त्यसै गरी विभागमा दर्ता भएका औषधिहरू मात्रै प्रेस्क्रिप्सनमा लेख्न निर्देशन दिएको तथा दुई वा सो भन्दा कम उमेरका बालबालिकालाई खोकीको औषधि सिफारिस गर्दा वैज्ञानिक प्रमाणको आधारमा मात्रै सिफारिस गर्नुपर्ने उनले बताए।

खासगरी सीमा नाका नजिकका स्थानहरूमा सजग रहन तथा जथाभाबी विक्री वितरण वा खरिद गर्न नपाइने गरी सचेत रहन आग्रह गरिएको उनले बताए।

बजारमा दिइएको निर्देशन पालना भएको नभएको बारे जाँच गर्न तथा उत्पादनमा गलत अभ्यास भए नभएकोबारे परीक्षण गर्न बजारमा आएका औषधिहरूको नमुना सङ्कलन गरी परीक्षण गर्ने तयारी गरेको उनले बताए।

नागरिकको स्वास्थ्यसँग खेलबाड नहोस् भन्ने अभिप्रायले विभिन्न रणनीति बनाएर काम भइरहेको उनको भनाइ छ। माधुरी महतो /बीबीसी नेपाली सेवा

Related posts

खुल्ला ठाँउमा खानेकुराको बिक्रीमा रोक्न लगाउन वीरगन्ज महानगरलाई सरोकारवालाहरुको सुझाव

MadhesKhabar

नारायणी अस्पतालको ओसीएमसीबाट ३९५ जनाले सेवा लिए

MadhesKhabar

नारायणी अस्पतालमा आकस्मिक सेवा सहित २२ बेडको डायलोसिस वार्ड सन्चालन

MadhesKhabar

Leave a Comment