वीरगन्ज,११असोजःनेपाल चिकित्सक संघले अन्तरिम सरकारको स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा डा. संगीता कौशल मिश्रालाई नियुक्त गर्न माग गरेको छ ।नेपाल चिकित्सक संघ नारायणी शाखाले एक प्रेस विज्ञप्ति नै जारी गरेर स्वास्थ्य मन्त्रालयका पूर्व अतिरिक्त सचिव डा. मिश्रालाई स्वास्थ्य मन्त्रीमा नियुक्त गर्न माग गरेको हो ।
नेपालको संविधान तथा प्रचलित नागरिकता ऐन अनुसार डा.मिश्रामाथि मन्त्री बन्न कुनै कानूनी वा संवैधानिक अवरोध नरहेको स्पष्ट चिकित्सक संघले स्पष्ट पारेको छ। डा.मिश्रालाई अन्योलमा राख्ने वा बदनाम गर्ने गतिविधिलाई बेवास्ता गर्दै योग्यताको आधारमा मन्त्रीमा नियुक्त गर्नुपर्ने संघका अध्यक्ष डा. मनोज गुप्ताले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
गत सोमबार अन्तरिम सरकारको मन्त्रीपरिषद विस्तार गर्नुअघि सामाजिक सञ्जाल र केहि सञ्चारमाध्यममा नेपाल चिकित्सक संघको आजिवन सदस्य तथा वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा.मिश्राका बारेमा गरिएका टीकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल चिकित्सक संघ नारायणी शाखाले जनाएको छ ।
प्रेस विज्ञप्तिमा भनिएको छ, ‘संघ स्पष्ट गर्दछ कि कुनै पनि उजुरी सम्बन्धित निकायद्वारा गोप्य रूपमा छानबिन हुने प्रचलन रहेकोले छानबिनको निष्कर्ष आउनुअघि नै कसैलाई दोषी ठहर गर्नु वा चरित्रहत्या गर्नु न्यायोचित होइन । अख्तियारले समेत केही भ्रामक समाचारहरू खण्डन गरिसकेको सन्दर्भमा मिडियामा भइरहेको एकतर्फी बदनाम गर्ने गतिविधि दुर्भाग्यपूर्ण छ ।’
लामो समयदेखि राष्ट्रसेवामा योगदान दिनुका साथै विशिष्ठ श्रेणीसम्मको जिम्मेवारी बहन गरिसकेकी डा. मिश्रा मन्त्रीमा नियुक्त हुनै लाग्दा त्यसबाट बञ्चित गराउने नियतले उनिविरुद्ध अनावश्यक भ्रम फैलाउनु निन्दनीय भएको संघले जनाएको छ ।
तसर्थ अन्तरिम सरकारले डा. मिश्रालाई अन्योलमा राख्ने वा बदनाम गर्ने गतिविधिलाई बेवास्ता गर्दै योग्यताको आधारमा मन्त्री बन्ने अधिकार सुरक्षित गर्न ढिलाइ नगरी यथाशीघ्र न्याय दिन माग गरिएको संघका अध्यक्ष डा. गुप्ताले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अन्तरिम सरकारको मन्त्रीपरिषद विस्तारका क्रममा गत आइतबार बेलुकी प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्यमन्त्रीमा डा. मिश्रा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा अनिलकुमार सिन्हा, कृषि तथा पशुपंक्षी विकासमन्त्रीमा मदन परियार,सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा जगदीश खरेलर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा डा. महावीर पुनको नाम राष्टपति समक्ष सिफारिस गरेकी थिइन् ।सिफारिस गरिएका पाँचै जनाको शपथ सोमबारका लागि तय भइसकेको थियो ।
तर आइतबार रातिदेखि नै सामाजिक सञ्जाल र केहि सञ्चारमाध्यमहरुमा स्वास्थ्यमन्त्रीमा सिफारिस गरिएकी डा. मिश्राविरुद्ध अख्तियारमा भ्रष्टचारसम्बन्धि मुद्धा परेको र दर्ताको प्रकेयामा अन्तिम चरणमा रहेको समाचारहरु प्रकाशन गरिएका थिए । जसका कारण सोमबार भएको थप मन्त्रीहरुको शपथमा डा. मिश्राको नाम होल्डमा राखेर अरु चार जनालाई मात्रै शपथ गराइएको थियो ।
त्यसपछि डा. मिश्राविरुद्ध आएका समाचारहरुको अख्तियारका प्रवक्ताले नै खण्डन गरेका थिए । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले अख्तियारले बोल्दै नबालेका कुरालाई केहि सञ्चारमाध्यमले समाचार बनाएर प्रकाशीत गरेको भन्दै सञ्चारमाध्यम मार्फत नै आपत्ति जनाएका थिए । डा. मिश्रबारे हुँदै नभएका कुरा कहाँबाट बाहिर आएको भन्दै प्रवक्ता पौडेलले आश्चर्य समेत प्रकट गरेका थिए । ‘अख्तियारले आधिकारीक रुपमा यस्तो कुरा कहीँपनि बोलेको देखिएको छैन । म प्रवक्ता भएपनि आधिकारिक रुपमा यस्तो बोल भनेर कसैले भनेको छैन । यस्ता कुराहरु कहाँबाट जन्मियो मलाई पनि थाहा छैन,’ उनले भनका थिऐ, ‘अख्तियारमा मुद्दा जाने, मुद्दा लाग्ने भनी मिडियामा आएका कुराहरुबारे अरु नै संस्थाहरुकै चासो देखिएको छ । मिडियामा आएका कुराहरु सत्य होइन ।’
डा.मिश्रविरुद्ध उजुरी परेर अनुसन्धान भएको कुरा सत्य भएपनि अनुसन्धानमा बलियो प्रमाण र आधार नभेटिएकोले मुद्धा दायर हुदैछ भन्ने कुरामा सत्यता नभएको पौडेलले भनेका थिए ।


