Madhes Khabar
स्थानिय हेडलाइन

अध्यक्ष मेहताको हठका कारण पकहाँ मैनपुरका कर्मचारीहरुले ६ महिनादेखि पाएनन् तलब

वीरगन्ज,८असोजःपर्साको पकहाँ मैनपुर गाउँपालिकाको गाँउपरिषद अहिलेसम्म हुन नसक्दा त्यहाँ करार र ज्यालादारीमा कार्यरत ६५ भन्दा बढी कर्मचारीहरुले विगत ६ महिनादेखि तलब पाउन सकेका छैनन् ।अहिले दशैंमा पनि उनिहरु तलबभत्ता पाउनबाट बञ्चित भएका छन् ।

गाँउपालिका अध्यक्ष सुरेश मेहताको हठका कारण गत असारमै हुनुपर्ने गाउँ परिषद् अहिलेसम्म पनि हुन नसक्दा आँफुहरुले गत चैतदेखि तलबभत्ता पाउन नसकेको कर्मचारीहरुको गुनासो छ ।

पकहाँमैनपुर गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ का लागि संघ सरकारले विकास खर्चतर्फ ८ करोड ६५ लाख रुपैयाँ छुट्याएपनि अध्यक्ष मेहताले एकलौटी ढंगले १६ करोडको बजेट सूत्रमा राख्नुपर्ने अडान लिँदै आएकाले परिषदमा ढिलाइ भएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले बताए।

उनका अनुसार पालिकामा आएको बजेटभन्दा दोब्बरको योजना बनाउँदा कामको भुक्तानी असम्भव हुने स्पष्ट हुँदाहुँदै पनि अध्यक्ष मेहताले बारम्बार बैठक छोड्ने र सहमति नखोज्ने प्रवृत्तिले समस्या गहिरिएको हो।

“गाउँ परिषद् सम्पन्न गरी आँफूलाई अख्तियारी दिए दुई दिनमै तलब दिन सक्छु,” अधिकृत साहले भने ।करार र ज्यालादारीका कर्मचारीले विगत ६ महिनादेखि तलब नपाउँदा चाडबाडमै आर्थिक संकट झेल्न बाध्य भएको प्रमुख प्रशासकीय अधिकृत साहको गुनासो छ।

वडा नम्बर १ का वडाध्यक्ष विनोद मेहताले पालिका अध्यक्ष सुरेश मेहताको व्यक्तिगत स्वार्थ र हठकै कारण गाउँपालिकालाई अनिर्णयको बन्दी बनाएर सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीलाई दुःख दिएको आरोप लगाए।

उनका अनुसार संघ सरकारले छुट्याएको ८ करोड ६५ लाख मध्ये ५ वटा वडाका लागि ८०–८० लाख गरी ४ करोड, गाँउपालिका उपाध्यक्षलाई १ करोड २० लाख र गाँउपालिका अध्यक्षलाई ३ करोड ४५ लाख बराबरको योजना दिने सहमति भएको थियो। तर, गाँउपालिका अध्यक्ष सुरेश मेहताले त्यसलाई नमान्दै १६ करोडको योजना शीर्षकमा राख्नुपर्ने दबाब दिँदा गाँउ परिषद् हुन नसकेको वडाध्यक्ष मेहताले बताए।“जनताको भोटबाट हामी पनि जितेका हौं, विकास गर्ने बजेट हामीलाई चाहिएन र ?” वडाध्यक्ष विनोद मेहताले भने।

यसैबीच गाउँ परिषद् लामो समयदेखि नबोलाइएपछि गाँउपालिका उपाध्यक्षसहित ५ वटै वडाध्यक्षहरूले लिखित रूपमा परिषद् बोलाउन माग गरेका छन्।

यसैबिच वडाध्यक्षहरुले दबाब दिएपछि गाँउपालिका अध्यक्ष मेहताले गाँउ परिषद बैठक असोज ९ गते बिहीबार बोलाएका छन् । बुधबार दिउँसो एक सूचना जारी गर्दै उनले बिहीबार ११ बजे गाँउ परिषद बैठक बोलाएका हुन् ।

Related posts

मानव सेवा आश्रम वीरगन्जको भवन निर्माणका लागि एक दाताले दिए ५ लाख ११ हजार गोप्य दान

MadhesKhabar

बारामा गाेली प्रहारबाट एक भारतीयकाे मृत्युु

MadhesKhabar

वीरगन्जमा ४० लाखको सामान सहित ट्रक र ट्याक्टर पक्राउ

MadhesKhabar

Leave a Comment