वीरगन्ज,३१भदौंः जेनजीको आन्दोलनका क्रममा गत मंगलबार अराजक समुहको तोडफोड र आगजनीबाट ध्वस्त पारिएको वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित वडा कार्यालय मंगलबारदेखि सञ्चालनमा ल्याइएको छ ।
तोडफोड र आगजनीबाट ध्वस्त पारिएको वडा कार्यालयमा आइतबार र सोमबार वडाध्यक्ष सुशील साह कानु, कर्मचारी र स्थानीय युवाहरुले सरसफाइ गरेका थिए । त्यसपछिसेवा प्रवाहका लागि आवश्यक आधारभूत उपकरण र फर्निचरहरु वडाध्यक्ष कानुले आफ्नो निजी पहलमा व्यवस्थापन गरेर मंगलबारदेखि वडा कार्यालयको सेवा प्रवाह सुचारु गराएका हुन् ।
वडा कार्यालय भवनको दोस्रो तल्लामा यसअघि सञ्चालित वडा कार्यालय तोडफोड र आगजनीबाट ध्वस्त नै भएकाले तत्काल त्यहाँ कार्यालय सञ्चालनमा ल्याउन सम्भव नै नभएकाले भवनको भुंइँ तल्लाको बरण्डामा मंगलबारदेखि कार्यालय सञ्चालनमा ल्याइएको वडाध्यक्ष कानुले जानकारी दिए ।
कार्यालय सञ्चालन र सेवा प्रवाहका लागि आवश्यक फर्निचर, कम्प्युटर, ल्यापटप ,प्रिन्टर लगायतका उपकरण, टेबल र कुर्सीको व्यवस्थापन आँफुले आँफ्नो निजी खर्चमा गरेको उनले बताए ।
उनले भने, कार्यालय सञ्चालनका लागि चाहिने फर्निचर र उपकरणहरु किन्न कम्तिमापनि तत्काल १५ लाख बढी रकम चाहिन्छ । त्यति धेरै रकम कहाँबाट ल्याउने ? त्यहिभएर मैले आफ्नो घरमा रहेका टेबल कुर्सी, कम्प्युटर,ल्यापटप र प्रिन्टरहरु अहिले काम चलाउका लागि ल्याएर सेवा सुरु गरेको छु ।
मंगलबार महानगरपालिकामा बसेको नगरपरिषद बैठकमा मेयर राजेशमान सिंहले वडा कार्यालय सञ्चालन र सेवा प्रवाहका लागि आवश्यक उपकरण र सामान केहि दिनभित्रै महानगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता जनाएको वडाध्यक्ष कानुले जानकारी गराए ।
अध्यक्ष कानुका अनुसार,जेनजी समुहको प्रदर्शनका क्रममा अराजक समुहले वडा कार्यालयमा गरेको तोडफोड र आगजनीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । तोडफोड र आगजनीबाट कार्यालयका दुवै कोठा, हल ध्वस्त भएका छन् भने ४ थान कम्प्युटर, २ थान ल्यापटप, ३ थान एसी, २ थान प्रिन्टर, टेबल ,कुर्सी, सोफा , दराज लगायतका सबै फर्निचर जलेर खरानी भएका थिए ।आगजनीमा कार्यालयमा रहेका महत्त्वपूर्ण कागजातका फाइल,अभिलेखहरुपनि सबै जलेर खरानी भएको वडा कार्यालयका सचिव पवन प्रधानले जानकारी दिए।


