
मधेसखबर
वीरगन्ज,२०माघ : पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले वन्यजन्तुको अवैध चोरी सिकारीको घटनामा संलग्न रहेको ठहर गर्दै पर्सा र काठमाडौंका दुई जना प्रदेश सांसद र पूर्वगाउँपालिका अध्यक्ष सहित ४९ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
पर्सा क्षेत्र नम्बर ३(क) का प्रदेश सांसद प्रमोदकुमार जयसवाल, काठमाडौंका क्षेत्र नम्बर ५(ख) का प्रदेश सांसद श्याम खड्का , पर्साको सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयवाल सहित ४९ जना वन्यजन्तुको अवैध चोरी सिकारीमा संलग्न रहेको ठहर गर्दै निकुञ्जले उनिहरु विरुद्ध माघ १७ गते मुद्दा दायर गरेको हो ।
प्रदेश सांसद जयसवाल स्वतन्त्रबाट निर्वाचित भएपनि केहि दिन अघि मात्र उनि जनता समाजवादी पार्टी (जसपा ) प्रवेश गरेका छन् । खड्का भने नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सांसद हुन् । पालिकाका पुर्ज अध्यक्ष जयसवाल पनि जसपाका नेता हुन् । जयसवालद्व सहोदर दाजुभाई पनि हुन् ।
मुद्धा दायर गरिएका ४९ जना मध्ये प्रदेश सांसदद्वय जयसवाल र खड्का , पालिकाका पूर्व अध्यक्ष जयसवाल र सन्जिव शाही गरि ४ जनाले वन्यजन्तुको अवैध चोरी सिकारीमा मतियारको रुपमा काम गरेको निष्कर्ष निकाल्दै उनिहरु विरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ बमोजिमको सजाय हुने गरि मुद्दा दायर गरिएको पर्सा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी सुर्य खड्काले जानकारी दिए ।
खड्काका अनुसार उनीहरूलाई कसुरदारलाई लाग्ने सजायको आधा सजाय हुनेछ । ऐनमा कसुरदारलाई २० हजार देखि ५० हजार रुपैया जरिवाना वा ६ महिना देखि १ वर्ष सम्मको कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
प्रदेश सांसद खड्काको हकमा उनको आफ्नो नाममा दर्ता भएको हतियार अन्य व्यक्तिलाई प्रयोग गर्न दिएर वन्यजन्तुको सिकार गर्न लगाएको निष्कर्ष निकाल्दै निकुञ्जले उनी विरुद्ध हातहतियार खरखजना ऐन,२०१९ बमोजिम थप कारबाहीका लागि पनि जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेर समेत पठाएको छ ।

यस्तै पक्राउ परेका ८ जना प्रतिवादीहरू झापस दास थारु, नवराज बस्नेत, विशाल सहनी, दामोदर अधिकारी, म्लाङडोङ तामाङ, प्रकाश केसी, सुलन मियाँ अन्सारी र भोला बहादुर पुन मगरलाई भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(३) बामोजिम सजाय हुने गरि मुद्दा दायर गरिएको खड्काले जानकारी गराए ।
यस्तै फरार रहेका मध्ये कुमार लामा , विकास सहनी र उपेन्द्र यादव विरुद्ध पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(३) बामोजिम सजाय हुने गरि मुद्दा दायर गरिएको खड्काले बताए ।वन्यजन्तुको अवैध चोरी सिकारीमा संलग्न रहि फरार रहेका (नाम, वतन पूर्ण रुपमा नखुलेका ) अरु ३४ जना प्रतिवादीको हकमा भने पहिचान खुली पक्राउ परेका बखत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमजोजिम सजाय हुने गरि मुद्दा दायर गरिएको खड्काले जानकारी दिए ।
गत पुष ४ गते राति निकुञ्जमा गस्तिका क्रममा राष्ट्रिय निकुञ्ज प्रशासन र नेपाली सेनाको संयुक्त गस्ती टोली र वन्यजन्तु सिकारीहरु बिच गोली हानहान भएको थियो ।त्यसपछि सिकारी समुहलाई पछयाउदै जाने क्रममा निकुञ्ज र सेनाको टोलीले प्रदेश सांसद प्रमोद जयसवालको पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर –१ स्थित घरबाट मृत जरायो र हातहतियार सहित ५ जना सिकारीलाई पक्राउ गरेको थियो ।
उनिहरुको साथबाट टाउकोमा गोली लागेको एउटा मृत पोथी जरायो, एउटा भाले जरायोको टाउको, १२ बोरको बन्दुक एक थान, ९ थान गोली, नाइट ििभजन राइफल,आधुनिक हातियार राख्ने एउटा झोला, रातको समयमा हेर्ने दुरबिन, आइफोन १४ म्याक्स मोबाइल, २ लाख ९० हजार रुपैया नगद, एक हजार दुई सय भारतीय रुपैयाँ बरामद भएको थियो ।
टोलीले चोरी सिकारमा प्रयोग भएको प्रदेश २ ०३००१ च ३०९७ नम्बरको सेतो बोलेरो गाडी पनि बरामद गरेको थियो । उक्त गाडी गाँउपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवालको नाममा रहेको छ ।निकुञ्जको टोलीले काठमाडौं १७ घर भएका सञ्जिन शाहीको नाममा रहेको बा ५ ख ७८०५ नम्बरको ल्यान्डक्रुजर गाडी पनि बरामद गरेको थियो ।
घटनामा संलग्न रहेको आरोपमा १५ जनालाई पक्राउ परेपनि ती मध्ये प्रदेश सांसदद्वय जयसवाल र खड्का , पालिकाका पूर्व अध्यक्ष जयसवाल , प्रकाश केसी र सन्जिव शाहीलाई निकुञ्जले तारेखमा रिहा गरेर अनुसन्धान गरिरहेको थियो ।

