वीरगन्ज,१०भदौंःवीरगन्जमा हैजाको संक्रमण पुष्टि हुने बिरामीको संख्या घट्न थालेको छ। अस्पताहरुमा झाडपखालाका नयाँ बिरामीको संख्या कहि बढेपनि हैजा संक्रमण पुष्टि हुने बिरामीहरुको संख्या भने गत आइतबारदेखि तुलनात्मक रुपमा घट्दो क्रममा छ ।
आइतबार २९ जनामा र सोमबार २२ जनामा संक्रमण पुष्टि भएकोमा मंगलबार भने २१ जनामा मात्र हैजाको संक्रमण पुष्टि भएको वीरगन्ज महानगरपालिाकाको स्वास्थ्य शाखाले जनाएको छ ।
वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत झाडापखालाका सिकिस्त बिरामीहरुको आरडिटी टेष्ट (परीक्षण) हुदै आएको छ ।हालसम्म (गत शुक्रबारदेखि मंगलबार साँझ ६ बजेसम्म )वीरगन्जमा कूल ११४ जनामा हैजाको संक्रमण पुष्टि भएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरले जानकारी दिए । मंगलबार २१ जनामा मात्र हैजाको संक्रमण पुष्टि भएको उनले बताए ।
उनका अनुसार, हालसम्म नारायणी अस्पतालमा सबै भन्दा बढी ४३ जनामा , तराई हस्पिटलमा ३८ जनामा , नेशनल मेकिडल कलेजका १५ तथा भवानी अस्पताल, वीरगन्ज हेल्थकेयर हस्पिटल र मंगलम प्यथोलोजीमा ३/३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै अलि अर्थो अस्पताल र एडभान्स मेडिकेयर हस्पिटलमा २/२ जनामा तथा नारायणी सेन्ट्रल हस्पिटल,नेपाल इण्डोहपस्टिल, नीलकण्ठ हस्पिटल, सर्वोत्तम अस्पताल र नेपाल मेडिसिटी बयोधा अस्पतालमा १/१ जनामा हैजाको संक्रमण पुष्टि भएको हो ।
ठाकुरले मंगलबार अस्पतालमा झाडापखालाका ९३ जना नयाँ बिरामी उपचारका लागि भर्ना भएको जानकारी दिए ।सोमबार भने ६२ जना नयाँ बिरामी भर्ना भएका थिए ।
हालसम्म (गत शुक्रबारदेखि मंगलबार साँझ ६ बजेसम्म) वीरगन्जमा कूल ४२२ जना झाडापखालाबाट संक्रमित भएकोमा तीमध्ये अस्पतालमा उपचारपछि निको भएर २२३ जना घर फर्किसकेको उनले बताए । मंगलबारमात्रै ५२ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएको उनले बताए ।हाल विभिन्न अस्पतालमा गरी १९९ जना बिरामी उपचाररत रहेको भन्दै उनले आइसियुमा उपचारत बिरामीको संख्या हाल ३१ मात्रै रहेको जानकारी गराए ।

