
वीरगन्ज,७पुसःपर्सा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार सिफारिसमा नेपाली कांग्रेस पर्सा जिल्ला कार्य समितिले पनि युवा नेता राकेश यादवलाई बञ्चित गराएको छ ।
आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि कांंग्रेसबाट प्रत्यक्षतर्फ उम्मेदवारमा क्षेत्रीय कार्य समितिमा गत मंसिर २२ गते युवा नेताले लाग्ने दस्तुर ११ हजार रुपैयाँसहित आवेदन दिएका थिए । क्षेत्रीय कार्यसमितिले त्यसबेला यादवसंगै पूर्वमन्त्री अजय चौरसिया, संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य र मदन यादवको गरी ४ जनाको नाम जिल्ला कार्य समितिमा सिफारिस गरेको क्षेत्रीय सभापति महमद शाहबुदिनले मधेसखबरलाई जानकारी गराएका थिए ।
तर त्यसको केहिदिन मै क्षेत्रीय कार्यसमितिले युवा नेता यादव बाहेक अरु तीन जनाको नाममात्रै जिल्ला कार्यसमितिमा सिफारिस गरेको खबर बाहिरिएपछि युवा नेता यादवले गत गत मंसिर २९ गते कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीलाई नै भेटेर उम्मेदवार सिफारिसका लागि लिखित आवेदन दिएका थिए ।
त्यसपछि कांग्रेस जिल्ला कार्यसमितिले पनि युवा नेता यादवको नाम हटाएर अरु तीन जनाको नाम मात्रै मधेस प्रदेश कार्यसमितिलाई पठाएको जानकारी आँफुले पाएको युवा नेता यादवको आरोप छ ।
आफ्नो नाम हटाएर जिल्ला कार्यसमितिले अरु तीन जनाको मात्रै नाम मधेस प्रदेश कार्यसमितिलाई पठाएको थाहा पाएपछि युवा नेता यादवले आँफुसंग कांग्रेस जिल्ला कार्यसमितिलेपनि विभेद गरेको भन्दै आक्रोश पोखेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै युवा नेता यादवले लेखेका छन् : नेपाली कांग्रेस प्रदेश कार्य समितिको महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठका अनुसार नेपाली कांग्रेस जिल्ला कार्य समितिले पनि मेरो नाम प्रदेश कार्य समितिको लागि सिफारिस गरेको छैन। नेपाली कांग्रेसको जिल्ला सभापति,उपसभापती,दुवै सचिव अनि प्रवक्ता र सदस्यहरुलाइ म आँफैले फोन गरेर म माथी भएको विभेदको बारेमा जानकारी गराउदा समेत जिल्ला कार्य समितिले आफ्नो निरिहपन प्रामाणित गरेको प्रती खेद प्रक्ट गर्न चाहन्छु। साथै आम कांग्रेसजन अगाडि अगाडि हेर्दै जानुस। जय नेपाल
युवा नेता यादवले अब आँफुले प्रदेश कार्यसमिति र केन्द्रिय कार्यसमितिमै पुगेर उम्मेदवारीका लागि लिखति दाबी पेस गर्ने बताएका छन् । उनले भनेका छन् : म चुप लागेर बस्नेवाला छैन । ममाथि भइरहेको विभेद र अन्यायको विरुद्ध अन्तिमसम्म लड्नेछु ।

