वीरगन्ज,८भदौं :प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री सत्रुधनप्रसाद सिंहले वीरगन्जमा फैलिएको हैजाको महामारी रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले आफ्ना सबै संयन्त्र र निकायलाई परिचालन गरिसकेको बताएका छन् ।
आइतबार वीरगन्जमा बसेको जिल्ला स्वाास्थ्य संकट व्यवस्थापना समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री सिंहले हैजा महामारी रोकथाम र नियन्त्रणका लागि प्रदेशको स्वास्थ्य निर्देशनालयका प्रमुख निर्देशक सरोज न्यौपानेको नेतृत्वमा विज्ञसहितको टोली परिचालन गरिसकेको जानकारी गराए ।स्वास्थ्य महाशाखाको आपुर्ति प्रमुख डा. विपनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुर नेतृत्वको छुट्टै टोलीपनि वीरगन्जमा परिचालन गरिसकिएको उनले बताए ।
मन्त्री सिंहले भने,‘वीरगन्जमा देखिएको यो महामारीप्रति प्रदेश सरकार गम्भीर छ । सबै निकायलाई अलर्ट अवस्थामा राखेका छौं। बिरामीको उपचारमा कुनैपनि कमी वा लापरवाही हुन दिदैनौं ।यसका लागि औषधि, उपकरण, जनशक्ति जे जे चाहिन्छ मधेस सरकार दिन तयार छ । पछि हट्दैन ।’
उक्त बैठकमै प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. ओमप्रसाद अर्यालले नारायणी अस्पतालमा प्रदेशको स्वास्थ्य मन्त्रालयका तर्फबाट केहि मात्रामा औषधि उपलब्ध गराइसकेको जानकारी गराए ।नारायणी अस्पतालमा आइतबारदेखि प्रदेश सरकारले १० जना मेडिकल अफिसर चिकित्सक , १० जना परामेडिकल स्टाफ र केहि स्टार्फ नर्स पठाइसकेको उनले बताए ।
प्रदेश सरकारको स्वाास्थ्य मन्त्रालयले महामारीको रोकथाम र नियन्त्रणसंगै बिरामीको उपचारका लागि आवश्यकता अनुसार थप औषधि र जनशक्ति उपलब्ध गराउँदै जानेपनि उनले बताए ।

