Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जमा सुरक्षित गर्भपतन गराउनेहरुको संख्या बढ्दै,स्कूल र कलेजमा अझै सचेतना फैलाउनु पर्नेमा जोड

माधुरी महतो

वीरगन्ज,१७बैशाखःसुरक्षित गर्भपतनका लागि वीरगन्जको एक अस्पतालमा आईपुगेकी पर्साको जगरनाथपुरकी एक जना महिलालाई सुरुमा निक्कै समस्या भयो । कारण उनलाई सुरक्षित गर्भपतन सेवाबारे त्यहि राम्रोसंग जानकारी थिएन ।

४० वर्ष उमेर पुगेकी ती महिलाको स्कुल र कलेज पढिरहेका चार सन्तान भएपनि उनले गर्भनिरोधक अस्थायी वा स्थायी साधनको प्रयोग नगरेका कारण पछि जाँच गराउँदा ८ हप्ताको गर्भ बसेको थाहा पाईन् ।चार जना सन्तानकै पालनपोषणमा समस्या परिरहेको बेला पाँचौ सन्तानको रुपमा अर्को बच्चा जन्माउनु भन्दा सुरक्षित गर्भपतन कसरी गराउन सकिन्छ भन्ने खोजीमा लाग्ने निर्णय गरे, उनले र उनका श्रीमान्ले ।यसको समाधान खोज्ने क्रममा ती दम्पती वीरगन्जको एक अस्पतालमा आईपुगे ।डाक्टरको सल्लाह अनुसार महिलाले सुरक्षित गर्भपतन गराउन सफल पनि भए ।

ती महिला क प्रतीनीधी पात्र मात्र हुन् । सरकारले सुरक्षित गर्भपतन गराउन पाउने ऐननियम लागु गरेपछि सुरक्षित गर्भपतन गराउने महिलाहरुको संख्या तुलनात्मक रुपमा बढ्दै गएको सरकारी तथ्यांकमा पनि छ ।तर अझपनि असुरक्षित गर्भपतन वीरगन्जमा मात्र नभई देशको ७ प्रदेश मध्ये मधेस प्रदेशमा भईरहेकोपनि छ ।

वीरगन्ज महानगरपालिकामा मात्रै एक वर्षमा ८ सय ६ जना महिला (किशोरी र युवतीसहित) ले सुरक्षित गर्भपतन गराएका छन् ।चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्ममा वीरगन्जका ८ सय ६ जना महिलाले औषधिको प्रयोग र शल्यकृया दुवै प्रविधी मार्फत गर्भपतन गराएको वीरगन्ज महानगरपालिका कार्यालयको स्वास्थ्य शाखाकी नसिंङ्ग अधिकृत ईन्दिरा लोहनीले जानकारी दिएकी छन् ।यस्तै गत आर्थिक वर्ष २०७९/०८० मा भने ७ सय ७८ जना किशोरी र युवतीसहित महिलाहरुले सुरक्षित गर्भपतन गराएको महानगरको तथ्यांकमा उल्लेख छ ।

मधेस प्रदेसमा भने चालु आर्थिक वर्षको हालसम्ममा सात हजार भन्दा बढी महिलाले औषधि सेवन तथा शल्यक्रिया मार्फत सुरक्षित गर्भपतन गराएका छन् भने गत आर्थिक वर्षमा ६ हजार १५६ जना महिलाले औषधि सेवन तथा शल्यक्रिया गराएर सुरक्षित गर्भपतन गराएका छन् ।

यसरी वीरगन्ज तथा मधेस प्रदेश लगायत नेपालमै पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको तथ्यांकले पनि पुष्टि गरेको छ ।सरकारले शहरदेखी ग्रामीण भेगसम्म सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतनको सेवा र आवश्यक सुचना प्रदान गर्न थालेपछि सुरक्षित गर्भपतन गराउने महिलाको संख्यामा वृद्धि हुँदै गएको हो ।

वीरगन्जमा मधेसका अधिंकाशं जिल्ला र भारततर्फ समेतबाट उपचारका लागि आउने नारायणी अस्पतालमा भने सरकारले निशुल्क गर्भपतन सेवा दिदै आएको छ ।यस्तै मेरी स्टोप्स् सेन्टर, मेरी सर्भिस सेन्टर र वीरगन्ज ओम हस्पिटलमा आधिकारीक रुपमा सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको छ ।

पर्साका १४ वटा पालिका मध्येबाट औषधिको प्रयोग अर्थात एम.ए द्वारा सुरक्षित गर्भपतन सेवा प्रवाहको स्थितीमा अस्पतालको संख्या भने सन्तोषजनक अवस्थादेखीदैन । सुरक्षित गर्भपतन सेवाका लागि २०७४ सालअघि र त्यसपछि पनि पर्साका विभिन्न पालिकामा रहेका स्वास्थ्य चौकी र अस्पताल सुचीकृत भएपनि हाल अधिकांशमा यो सेवा बन्द अवस्थामा रहेको छ भने केही स्वास्थ्य संस्थामा अझ पनि यो सेवा सुचारु छ ।

हाल वीरगन्जको नारायणी अस्पताल,पोखरीया नगरपालिकाको पोखरीया अस्पताल,पर्सागढी नगरपालिकाको बागवाना स्वास्थ्य चौकी ,सखुवापर्सौनी गाउँपालिकाको महुवन स्वास्थ्य चौकी र सखुवापर्साैनी स्वास्थ्य चौकीमा मात्रै सुरक्षित गर्भपतनको लागि सेवा उपलब्ध रहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । अन्य पालिकाहरुमा भने जनशतिm अभाव , बजेट अभाव लगायतको कारण देखाउँदै उतm सेवा संचालन आउन नसकेको पालिकाका जनप्रतिनीधीहरु बताउँछन् ।

सरकारले सन् २००२ मा गर्भपतनलाई कानूनी मान्यता दिएको थियो ।मुलुकी ऐन ११ औँ संशोधनको परिच्छेद–४ मा सुरक्षित गर्भपतनको व्यवस्था गरिएको छ । जसअनुसार गर्भधारण गरेको १२ हप्तासम्मको गर्भलाई गर्भपतन गर्न पाइने व्यवस्था छ ।

अनिच्छित वा बलात्कार भई गर्भपतन गराउनु परेमा २८ हप्तासम्मको गर्भलाई कानूनी मान्यता प्रदान गरिएको छ । तर खतरनाक अवस्थामा पुगेकालाई विज्ञ वा चिकित्सकको सल्लाह लिनुपर्ने व्यवस्था रहेको वीरगंजकी डाक्टर कृति अग्रवाल बताउँछिन् । उनका अनुसार कूल गर्भको आधा गर्भ अनिच्छित गर्भधारण हुन्छ ।

तर अझपनि अवस्था भने सन्तोषजनक छैन ।असुरक्षित गर्भपतनको जोखीम कायमै छ ।सरकारले सुरक्षित गर्भपतनको सेवालाई देशका सबै जिल्लामा निःशुल्क गरेपनि अझै ४० प्रतीशत भन्दा बढी महिलाले असुरक्षित वा सरकारले मान्यता नदिएको स्वास्थ्य संस्था तथा व्यक्तिबाट पनि गर्भपतन गराइरहेको बताउँछिन् नारायणी अस्पतालकी नर्सिङ्ग ईन्चार्ज अहेमा थापा ।

उनले अझ पनि गर्भपतनका लागि विधालयमा अध्ययनरत किशोरीहरु पनि आउने गरेको जानकारी दिदै खासगरी स्कुले बालबालिका लक्षित सचेतनाका कार्यक्रम ल्याउन आवश्यक रहेकोमा जोड दिन्छिन् । थापा भन्छिन्,‘जब सम्म घरपरिवार र विद्यालय स्तरबाटै प्रजनन स्वास्थ्य , महिनावारी र गर्भधारण तथा गर्भपतनका बारेमा बालबालिका तथा अभिभावकमा सचेतना आउँदैन तब सम्म असुरक्षित गर्भधारण र गर्भपतन जस्ता कुरा न्युनिकरण गर्न धेरै गाहृो छ ।बालबालिकाको पहिलो पाठशाला घर र दोश्रो हरेक विद्यालयमा प्रजनन स्वास्थ्यका बारेमा पाठ्यक्रममा राखेर अनिवार्य रुपमा उक्त शिर्षकमा अध्ययन गराउने वातावरण निर्माण गर्न आवश्यक छ ।’
अझैपनि कतिपय विधालयमा उक्त विषयमा विस्तृत रुपमा पाठ्यक्रममा राखिएपनि शिक्षक शिक्षिकाहरुले कक्षा कोठामा विद्यार्थीहरुलाई उक्त विषयबारे आफै घरमा स्वअध्ययन गरेर बुझ्ने जस्ता कार्य गर्दै आएको प्रती गुनासो थापा गर्छिन् ।

नारायणी अस्पतालमा गर्भपतनको औषधि सेवन गरी समस्या निम्तिएपछि महिलाहरु आउने गरेको थापाले बताईन् ।अस्पताल श्रोतका अनुसार आर्थिक वर्ष २०७९÷८० मा रक्तस्रावको समस्या लिएर आउने महिलाको संख्या २८२ थियो। जसमध्ये २०० जनाले अस्पतालमा परामर्श नगरी गर्भपतनको औषधि सेवन गरेका थिए भने चालू आर्थिक वर्षमा पनि डेढ सय जना भन्दा बढीले यही समस्या लिएर अस्पताल आएको थापा जानकारी दिन्छिन् ।

यसका साथै धेरै महिलाले सुरक्षित तथा कानूनी मान्यता प्राप्त सेवा लिन नसक्नुका मुख्य कारणमा कानून र सेवाबारे कम जानकारी हुनुपनि हो । सबैका लागि गर्भपतनको पहुँचयोग्य सेवा उपलब्ध नहुनु तथा महिला आफैंले निर्णय लिन नसक्नु पनि प्रमुख कारण रहेको प्रभु अस्पतालकी डाक्टर लक्ष्मी थापाले बताईन् ।

वीरगन्ज लगायत पर्सा जिल्लामै कतिपय गर्भपतन लुकिछिपी अर्थात असुरक्षित गर्भपतन हुने गरेको भने गर्भपतनका लागि आवश्यक औषधि उपलब्ध नहुनु, गर्भपतनका लागि प्रविधि र प्राविधिक जनशक्तिको अभाव तथा सूचनाको पहुँच नहुनाले पनि गर्भपतनमा ठूलो चुनौती रहेको जानकार अर्की डाक्टर प्रिती यादव बताउँछिन् ।

विद्यालय र क्याम्पसमा प्रजनन स्वास्थ्यको बारेमा पुर्ण जानकारी हुनेगरी सचेतनाको कक्षाको व्यवस्था तथा त्यस्तो अवस्था आईहाले सुरक्षित गर्भपतनका लागि काँहा जाने ,कसरी सेवा लिने, सुरक्षित सेवाहरु काहाँ उपलब्ध छन् भन्ने बारेमा पनि जानकारी बेला बेलामा गराईराख्न आवश्यक देखीएको डाक्टर यादवको सुझाव छ ।

तर हाल कतिपय अवस्थामा महिला मात्र नभई महिलाका श्रीमान् लगायत परिवारका सदस्यहरु पनि अनिच्छित गर्भपतनका लागि बुझ्न आउने क्रम बढेको जानकारी गराउँदै यो एउटा सकारात्मक पक्षको सुरुवात भएको पनि उनि बताउँछिन् ।

वीरगन्जकै ओम हस्पिटलका निर्देशक स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जगतदीप पटेलले वीरगन्जका ४ वटा स्वास्थ्य संस्थाले मात्रै सुरक्षित गर्भपतनका लागि कानुनी मान्यता प्राप्त गरेको भएपनि करिब ६० वटा भन्दा बढी ठाउँबाट असुरक्षित गर्भपतन भइरहेको भन्दै चिन्ता व्यक्त पनि गरे । पहिलेको भन्दा अवस्था अझ भयावह रहेको उनको भनाई छ ।

यसैपनि देशका अन्य ६ प्रदेशको तुलनामा मधेस प्रदेशमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढी रहेको उनले बताए। असुरक्षित गर्भपतनले मधेसमा मातृमृत्युदर पनि अन्य प्रदेशको तुलनामा बढी हुने गरेकोले सुरक्षित गर्भपतन गरी स्वास्थ्यको जोखिम कम गर्नुपर्नेमा डाक्टर पटेलले जोड दिए ।

वीरगन्ज महानगरपालिकाकी नर्सिङ अधिकृत इन्दिरा लोहनीले सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउने क्षेत्रमा महानगरले पनि काम गरिरहेको बतााइन् । सचेतना जगाउनेदेखि महानगर मातहतका स्वास्थ्य चौकीमा आउनेहरूलाई अनुमति प्राप्त ठाउँमा जान सल्लाह दिने गरेको उनले बताइन् ।

मेरी स्टोप्स वीरगन्जका इन्चार्ज सुरेश ठाकुरले वीरगन्जमै असुरक्षित रूपमा गर्भपतन भइरहेको स्वीकार गर्दै सुरक्षित गर्भपतन गराउनेको संख्या पनि बढ्दै गएकोप्रति खुसी व्यक्त गरे ।पछिल्लो समय मेरी स्टोप्स सेन्टरमा आउने सेवाग्राहीको चाप बढ्नुले बिस्तारै नागरिक सचेत हुँदै गएको स्पष्ट हुने उनको भनाई छ ।

गर्भपतन अझै पनि खुलेर चर्चा गर्ने विषयको रूपमा तराईमधेसमा स्वीकार भई नसक्नु चुनौतीका रुपमा देखिएको सामाजिक अभियन्ता प्रकाश थारुको बुझाई छ ।उनका अनुसार सामाजिक सचेतना अझै पनि अपर्याप्त छ । त्यसका लागि नागरिक समाज, समाजसेवी एंव गर्भपतनका क्षेत्रमा काम गर्ने संघसंस्था सबैको संयुक्त प्रयास आवश्यक भएको उनले औँल्याए ।

असुरक्षित गर्भपतनलाई सामान्य रूपमा लिएर बेवास्ता गरिएपनि यसले गर्दा विकराल समस्या निम्तिन सक्ने हुँदा सुरक्षित गर्भपतनको दायराभित्र सबैलाई ल्याउनुपर्नेमा जोड दिँदै सामाजिक अभियन्ता निला रामले यसमा सबै वर्गका साथै खासगरी युवाहरू अग्रसर भएर समाजलाई जागरूक बनाउनुपर्ने बताइन् ।

यसका साथै सुरक्षित गर्भपतनका लागि १० वटा औषधीले नेपालमा मान्यता पाएको भएपनि दर्ता नभएका र मान्यता नपाएका फार्मेसी तथा क्लिनिकहरुबाट पनि गर्भपतनका औषधी खरिदबिक्री हुने गरेकोले यसतर्फ सम्बन्धित निकायको प्रभावकारी अनुगमन हुनुपर्ने भन्दै उनले सुरक्षित रूपमा गर्भपतन गर्न प्रेरित गर्नुपर्नेमा जोड पनि दिईन् ।

 

Related posts

रानीघाट पुलबाट सरिसवा नदीमा हाम फालेकी राधिकाको शव तीन दिनपछि आज बिहान भेटियो

MadhesKhabar

बाढीले पर्साको गण्डक नहरमा ५ करोड भन्दा बढीको क्षति

MadhesKhabar

‘स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ वीरगन्जका युवा पत्रकार आंशु सर्राफलाई प्रदान

MadhesKhabar

Leave a Comment